२०८२, २७ माघ सोमबार
×

ट्रेन्डिङ

स्पेनमा कुलमानले भने – समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक

0 Shares
Spread the love

स्पेन – हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।

“मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ,” उनले भने I

 

अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशको हरेक क्षेत्रमा उज्यालो हुनुपर्यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए।

“म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत उत्पादन ८०० मेगावाट थियो , अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको छ। पांच गुना बढी उत्पादन भै रहेको छ। अरु हजारौं मेगावाटका आयोजना हरु निर्माणाधीन छन्। अहिले रु २५ अरब वार्षिक महसुल उठाई रहेका छौं। प्राधिकरणलाई आर्थिक रुपमा सबल बनायौं। आम जनताको सहयोग नभएको भए यो सम्भव हुने थिए,” घिसिङले भने।

“अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छन्। अँध्यारो हटाएर, आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नु पर्छ भन्ने संकल्पका साथ अगाडी बढेको छु। म खाडी मुलुकहरु, अमेरिका, युके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेन आइपुगेको छु। यो भ्रमणबाट मैले धेरै बुझ्ने सिक्ने मौका पाएँ,” उनले भने।

आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले छिटो भन्दा छिटो नेपालको समृद्धि कसरि हुन् सक्छ ? हामीले के गर्न सक्छौं ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए । “(प्रवासमा) साथीहरुले धेरै राम्रो व्यवसाय, काम गरिरहनु भएको छ। यो नेपालको लागि ठूलो सम्पत्ति हो। ५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नु भएको छ, विज्ञता हासिल गर्नु भएको छ। यो सबै विज्ञता नेपालको विकास र रुपान्तरणमा जोड्नु पर्छ,” उनले भने।

उनले छिट्टै आवश्यक कानून ल्याएर गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन गर्नु पर्ने पनि बताए। उज्यालो नेपाल बनाउने अभियानमा जोडिन उनले सबैलाई आग्रह पनि गरे।

उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान पनि गरिएको थियो।

नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केशर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष बिपिन कुमार बीसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कलाकार सरोज लामिछानेले सांगीतिक प्रस्तुति गरेका थिए। विभिन्न संघ संस्थाले कार्यक्रमको सफलताको कामना गर्दै संदेश पठाएको कार्यक्रम संयोजक अशिम लोप्चन तामाङले बताए।कार्यक्रमको अध्यक्षता गरि रहेका नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केशर बहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए। उनले प्रवासमा बसे पनि आफुहरु मातृभूमिको सुख दुखमा सधैं हातेमालो गर्दै आएको बताए। सन् २०१५ मा महाभूकम्पमा रकम संकलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरे।

प्रतिक्रिया