२०८२, ३० असार सोमबार
×

ट्रेन्डिङ

एनआरएनए पोर्चुगललाई साझा संस्था बनाउन मेरो उम्मेदवारी : लामा

0 Shares

लिस्बन । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नयां नेतृत्वका लागि सुजन लामाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

 

 

हाल उपाध्यक्ष समेत रहेका लामाले यही जुलाई ६ र ७ मा राजधानी लिस्बनमा हुने संघको दशौं राष्ट्रिय अधिवेशनमा आगामी (२०२५–०२७) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । संघलाई साझा संस्थाका रुपमा स्थापित गराउने अभियानका साथ ‘एकता, सद्भाव र सहकार्य’ को मूल नारालाई अगाडी सार्दै लामाले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

 

 

सामूहिक र समाबेशी नेतृत्वको अवधारणा सहित संघलाई सबल, सक्षम र सशक्त बनाउने ठोस योजना र कार्यक्रमका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको लामाले बताए । ‘नेपालका लागि नेपाली’ र ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई सार्थक बनाउँदै संघलाई अझ क्रियाशील र गतिशील बनाउन आफूले उम्मेदवारी दिएको उनले प्रष्ट पारे।

 

लामाले पोर्चुगलमा रहेका नेपालीहरूको साझा समस्या समाधानका लागि पहल गर्ने, यहाँका नेपालीहरूलाई सामाजिक, भावनात्मक र सङ्गठनात्मक रूपमा एकजुट बनाउने, कागजी प्रक्रियामा रहेकाहरुलाई सहयोग पुर्‍याउने र भाषा प्रशिक्षणको व्यवस्था गर्ने लगायतका कार्ययोजना अघि सारेका छन्। यस्तै, आपतमा परेका नेपालीहरूको राहत, उद्धार तथा शव व्यवस्थापनका लागि आपत्‌कालीन कोषको स्थापना गर्ने योजना रहेको लामाले बताएका छन् ।

 

 

‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ गर्ने भावनासहित लामाले संघलाई संस्थागत रूपमा सुधार गर्दै नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनलेे युवाहरूलाई फुटबल, भलिबल, क्रिकेट जस्ता खेलकुदमा जोड्न र प्रोत्साहन गर्न ‘खेलकुद कोष’ स्थापना गर्ने बताएका छन् । पोर्चुगलमा रहेका नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति र नेपालीपनसँग जोडेर त्यसको प्रवर्द्धन र संरक्षण गर्ने लगायतका कार्ययोजना सहित आफू चुनावी मैदानमा होमिएको लामाले बताए ।

 

 

संघको नेतृत्व तहमा रहेर सामाजिक गतिविधिमा सकृय रहदै आएका लामाले क्षमता, अनुभव र योगदानका आधारमा आफू नै नेतृत्वका लागि उपयुक्त र सक्षम पात्र रहेको दाबी समेत गरेका छन् । “अधिकांश साथीहरूको चाहना र अग्रजहरूको साथ–समर्थन पाएकै कारण मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ,” लामा भने, “व्यक्तिगत लाभ वा स्वार्थका लागि होइन, निस्वार्थ सेवा र संघलाई संस्थागत रूपमा बलियो बनाउन म नेतृत्वमा आउन लागेको हुँ ।”

 

पर्यटन व्यवसायी समेत रहेका लामा विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका आएका छन् । विभिन्न संघ–संस्थामा आबद्ध रहँदै संगठनात्मक अनुभव बटुलेका लामा संघका वर्तमान उपाध्यक्ष तथा तामाङ एसोसिएसन पोर्चुगलका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया