लिस्बन। लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस युरोप शाखाले पनि विशेष कार्यक्रमका साथ मनाएको छ।
शाखाले आईतवार एक कार्यक्रमका बीच भर्चुअल माध्यम जुम मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर युनियनको ३४ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रता र प्रेसमाथि नियन्त्रण गर्न नहुने धारणा व्यक्त गर्नुभयो। राज्यले प्रेस सम्बन्धि कानुन बनाउने नाममा प्रेसलाई निषेध गर्ने प्रयत्न गरे स्वीकार्य नहुने स्पष्ट पार्दै नेता साउदले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रजातन्त्र, लोकतन्त्र र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाली प्रेसले पहरेदारको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। नेता साउदले राज्यको चौथो अंगका रूपमा रहेको प्रेसले सत्य, तथ्य र निष्पक्ष ढंगले सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा नेपाली कांग्रेस सरकारमा रहेपनि रक्षात्मक अवस्थामा रहनुपरेको टिप्पणी गर्नुभयो। नेता शिवाकोटीले सरकारको कार्यशैलीका कारण पार्टीमाथि आलोचना बढेको बताउनुभयो ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाली सञ्चारक्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको युनियनले साझा मुद्दामा अन्तर्राष्ट्रिय मिडिया जगतसँग सहकार्य गर्दै आएको बताउनुभयो । युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासंघसँगको सहकार्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कार्यक्रमहरु गरेको उल्लेख गर्नुभयो । युनियनले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हितमा आफूलाई क्रियाशील राखेको भन्दै अध्यक्ष लम्सालले लाेकतन्त्र र प्रेस स्वतन्त्रताका सवालमा कसैसँग सम्झाैता नगरिने बताउनुभयो ।
सो अवसरमा आफ्ना भनाइ राख्दै युरोप शाखाका अध्यक्ष सञ्जयभक्त कँडेलले युरोपमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुलाई संगठित गर्दै शाखालाई थप क्रियाशील र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार महासंघ युरोप शाखा र बेलायत शाखामा आस्थाका आधारमा विभेद गरेर युनियन निकटका पत्रकारहरुलाई सदस्यताबाटै वञ्चित गरिएको बताउँदै कँडेलले शाखामा देखा परेको विवादका सन्दर्भमा केन्द्रले अग्रसरता लिनुपर्ने बताउनुभयो । पछिल्लो समय कांग्रेसप्रतिको आकर्षण घट्दै गएको भन्दै उहाँले पार्टीप्रति जनविश्वास र आकर्षण बढाउन नेतृत्व गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विश्व पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, केन्द्रीय सदस्य दीपक भण्डारी, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज सिंह, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, नेपाली जनसम्पर्क समिति नेदरल्यान्डका अध्यक्ष शालिक गौतम, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श बेलायतका प्रतिनिधि हरि कार्की, शाखाकी उपाध्यक्ष सविना श्रेष्ठ, महासचिव प्रवल भट्टराई, प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।