२०८३, १६ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

पोर्चुगलमा मोन्तिजो कप फुटबल प्रतियोगिता हुँदै 

0 Shares
Spread the love

भरत प्रधान,लिस्बन । मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिनुभयो ।

 

पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली सङ्घसंस्था र क्लबका गरी १६ टिमको सहभागिता रहने भट्टराईले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको योजना रहेको उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले तीन हजार पाँच सय युरो नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले दुई हजार युरो, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई कप तथा प्रमाणपत्रले पुरस्कृत गरिने समाजले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि पोर्चुगलस्थित सङ्घसंस्था, क्लबका साथै खेलप्रेमीहरूलाई समाजले विशेष आग्रहसमेत गरेको छ । मोन्तिजोस्थित नगरपालिकाको खेल मैदानमा खेल हुने समाजले जनाएको छ ।

 

सन् २०२३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै विभिन्न खालका सामाजिक एवं रचनात्मक गतिविधिहरू गर्दै आएको छ ।

प्रतिक्रिया