भरत प्रधान,लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ ।
परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको हो । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानी तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो ।
शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिइएको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ । यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरुको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने बिविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्यांक संकलन गर्ने दूतावासले जनाएको छ ।
कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि हालका लागि घुम्ती सेवा सञ्चालन गरेर नेपाली दूतावास लिस्बनले राहदानी लगायतका कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको पोर्चुगलका लागि कार्यवाहक राजदूत रामबाबु नेपालले राससलाई जानकारी दिनुभयो । लिस्बनस्थित नेपाली दूतावासबाट यथाशीघ्र सम्पूर्ण सेवा प्रवाह हुने बताउँदै उहाँले त्यसका लागि केही समय लाग्ने भएकाले धैर्य गर्न पोर्चुगलबासी नेपालीलाई आग्रह समेत गर्नुभयो । “हामीले लिस्बनमा दूतावास स्थापना गरेर सेवा प्रवाह गर्न सुरु गरेका छौँ । हालका लागि अस्थायी कार्यालय सञ्चालन भएको छ”, नेपालले भन्नुभयो, “दूतावासको स्थायी कार्यालय र कर्मचारीको निवासका लागि भवनको खोजी भइरहेको छ । नयाँ दूतावास भएकाले आन्तरिक तयारी र व्यवस्थापनमा पनि जुटिरहेका छौँ ।” पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिन भित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले बताउनुभयो ।
कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको दूतावास परिसरमा घुइँचो लाग्ने गरेको छ । दूतावासले कन्सुलर सेवा विभाग काठमाडौंले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल रानालगाय कर्मचारी खटिनुभएको छ । दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात दूतावासले आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ ।
लामो समयपछि पोर्चुगलमा नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलबासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीलगायतका कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलबासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै राहतको अनुभूति गरेका छन् । अब राहदानी लगायतका कागजातसम्बन्धी समस्या झेल्नु नपर्ने भन्दै पोर्चुगलबासी नेपालीले खुशी ब्यक्त गरेका छन् । दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउनका लागि अब स्पेन, फ्रान्स लगायतका नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेको अनुमान छ । यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलबासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो । यस्तै यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएका शनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । नेपाललाई फिर्ता बोलाएसँगै दूतावास स्थापनाको विषय केही समय अन्योल बनेको थियो । हाल उहाँ स्पेनका लागि राजदूत नियुक्त भई जिम्मेवारी समेत सम्हाली सक्नुुभएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको थियो ।
यसअघि नेपाली दूतावास नहुँदा पोर्चुगललाई फ्रान्सस्थित नेपाली दूतावासले आफ्नो कार्यक्षेत्रका रुपमा हेर्दै आएको थियो भने केही महिना अघिसम्म लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्यदूतावासले कागजात प्रमाणीकरण लगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो । पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघ पोर्चुगल लगायत यहाँ रहेका नेपाली संघ–सँस्था, सामाजिक अभियन्ता लगायत पोर्चुगलबासी नेपालीले लामो समयदेखि संर्घष गर्दै आएका थिए । भने दूतावास स्थापनाका लागि बिभिन्न खालका दबाबमूलक कार्यक्रमहरु समेत हुँदै आएको थियो ।