२०८३, २५ कार्तिक मंगलवार
×

मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको पोर्चुगल अडिसनबाट ८ जना छनोट 

0 Shares

 

 

भरत प्रधान,लिस्बन । सार्वाधिक धनराशिको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका लागि पोर्चुगल अडिसनबाट ८  प्रतियोगी छनोट भएका छन्।

 

 

 

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले राजधानी लिस्बनमा सम्पन्न गरेको अडिसनबाट मेरो भ्वाइस युनिभर्स तर्फ ५ र मेरो डान्स युनिभर्स तर्फ ३ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका हुन् । पोर्चुगलमा पहिलोपटक भएको अडिसनमा युरोपका विभिन्न मुलुकका गरि गायन तर्फ ३२ जना र नृत्य तर्फ १६ जना प्रतियोगीले भाग लिएको फाउन्डेसनका पोर्चुगल संयोजक दीपेश विष्टले जानकारी दिनुभयो । छनोट भएका प्रतियोगीहरुलाई अर्को चरणका लागि फाउन्डेसनले आफ्नै खर्चमा काठमाण्डौं लैजाने विष्टले बताउनुभयो ।

 

 

अडिसनमा निर्णायकको भूमिकामा गायन तर्फ गायक तथा संगीतकार केशब पौडेल र गायक अर्जुन सोनाम रहनुभएको थियो भने नृत्य तर्फ नृत्य निर्देशक रुपेश उप्रेती र नृत्यंगाना देवी गर्बुजामगर रहनुभएको थियोे । विश्वभर छरिएर रहेका नेपाली प्रतिभाका कलाकारहरुबीच प्रतिस्पर्धा गराइने दुवै शोका विजेताले एक-एक करोड रुपैयाँ, उपविजेताले २५-२५ लाख र तेस्रो हुनेले १०-१० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

 

विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरुको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिक‍ो संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने अभियानका साथ विश्वस्तरीय रियालिटी शो को आयोजना गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले बताउनुभयो । नेपाली भाषा, कला र संस्कृतिको विश्वव्यापी प्रवर्द्धन गर्ने यो अभियानले प्रतिभाशाली नेपालीहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने भट्टराईले बताउनुभयो ।

 

 

अमेरिका, क्यानडा, बेलायत र पोर्चुगलमा सम्पन्न भएको अडिसन अन्य मुलुकहरु थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतमा अडिसनको तयारी भइरहेको संस्थाले जनाएको छ । यस्तै नेपालका लागि बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन हुनेछ । विश्वभरबाट अडिसनमा छनोट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ ।

प्रतिक्रिया