२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

गायिका रमिला पाख्रिन, गायक प्रदिप लामा र कुमार योञ्जन पोर्चुगल आउँदै  

0 Shares
Spread the love

लिस्बन । चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमिला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जन पोर्चुगल आउने भएका छन् ।

 

 

सोनाम ल्होछारको अवसरमा विशेष सांगीतिक प्रस्तुति दिनका लागि गायिका पाख्रिनसहित गायक लामा र योञ्जन पोर्चुगल आउने भएका हुन् । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले मञ्जुश्री सम्बत् २८६१ तथा (डुल) सा पुख्री ल्होको अवसर पारेर यही फेब्रुअरी २ तारिखका दिन राजधानी लिस्बनमा बृहत् तामाङ साँस्कृतिक कार्यक्रम तथा सांगीतिक साँझको आयोजना गरेको छ । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार (नयाँ वर्ष) विशेष कार्यक्रमका साथ मनाउने तयारी भइरहेको घेदुङले जनाएको छ ।

 

 

“राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ बृहत् तामाङ साँस्कृतिक कार्यक्रम तथा सांगीतिक साँझको आयोजना गरेर पोर्चुगलमा सोनाम ल्होछार मनाउन लागिएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए।

 

 

तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रबर्द्धन र जगेर्ना गर्ने उद्धेश्यका साथ पूरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत स्वरुप ल्होछार मनाउन लागिएको तामाङले बताए । तामाङ अक्षयकोषको स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने विशेष साँस्कृतिक झलक समेत प्रस्तुत हुने बताइएको छ । सो अवसरमा लामागुरुबाट विशेष पूजापाठ समेत गरिने जनाइएको छ ।

 

 

कार्यक्रममा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका पाख्रिन, सेलो गायक लामा र गायक योञ्जनसहित अन्य राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायलाई घेदुङले बिशेष आग्रह समेत गरेको छ । कार्यक्रम लिस्बन अल्भलादेस्थित Republica Da Musica, Rua Do Centro Cultural 29, 1700-106 मा बिहान १० बजेबाट सुरु भई मध्यरात १२ बजे सम्म सञ्चालन हुने आयोजक संस्था घेदुङले जनाएको छ।

प्रतिक्रिया