लण्डन । विभिन्न सामाजिक संजालमा आएका भ्रमपूर्ण समाचारहरुको पुर्व काउन्सिलर प्रवेश केसीले खण्डन गरेका छन् ।
उनले भ्रमपूर्ण समाचारहरुले आफुलाई सामाजिक रुपमा बदनाम गराउन असफल प्रयास भईरहेको र सो समाचारहरुको विश्वास नगर्न सम्पूर्ण जनसमुदायहरुलाई आग्रह गरेका छन् ।
पुर्व काउन्सिलर प्रवेश केसीको विज्ञप्ति जस्ताको तस्तै :
मेरो अनुभव: व्यावसायिक सहयोगबाट सुरु भएको अन्याय
म २०१९ देखि २०२३ सम्म काउन्सेलरको रूपमा काम गर्दै आएको थिएँ। नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले सल्लाह र परामर्श प्रदान गर्नु मेरो जिम्मेवारी थियो।
२०२० मा लक्ष्मीजीले मलाई सहयोग र सल्लाहका लागि बोलाउनु भयो। उहाँ घरेलु हिंसाको शिकार हुनु भएको थियो। उहाँका तत्कालीन श्रीमानसँग लेनदेनका विषयमा विवाद भएपछि उहाँमाथि २६ डिसेम्बर २०२० मा अत्यन्तै कुटपिट गरिएको थियो, जसपछि तुरुन्तै लक्ष्मीजीलाई फर्मली पार्क अस्पतालमा भर्ना गरिएको थियो।
यो सहयोग मैले केवल व्यावसायिक जिम्मेवारी र मानवीय दृष्टिकोणका आधारमा गरेको थिएँ। तर, लक्ष्मीजीका पूर्व श्रीमानले यसलाई गलत अर्थ लगाउँदै मलाई निशाना बनाउन थाले।
•मेरो गाडी तोडफोड गरिएको थियो।
•सामाजिक रूपमा मलाई बदनाम गर्न खोजियो।
सोही समयमा, म पनि आफ्नै girlfriend बाट घरेलु हिंसाको शिकार भएको थिएँ। मेरो निजी जीवनमा भएको घरेलु हिंसाको मुद्दा अदालतसम्म पुग्यो, र सो मुद्दामा मेरो पक्षमा फैसला भयो। तर, अहिले आएर लक्ष्मीजीका पूर्व श्रीमानले झुटा समाचार बनाउँदै, सामाजिक सञ्जालमा मेरो र लक्ष्मीजीको नाम जोडेर दुर्व्यवहार गरिरहेका छन्।
मेरो वैवाहिक सम्बन्ध र अदालतको फैसला
म र मेरो पार्टनर बिच वैवाहिक सम्बन्ध नभएतापनि, उहाँले आफू वैवाहिक सम्बन्धमा रहेको र उल्टै आफु घरेलु हिंसाको शिकार भएको दाबी गर्दै अदालतमा गएकि थिईन।
अझै उहाँले मेरो घर कब्जा गरेर २ वर्ष ६ महिनासम्म बस्नुभयो।
अदालतमा उहाँले झुटा दाबी गर्दै मेरो घरमा आफ्नो हकको दाबी गर्नुभयो। तर बेलायतको अदालतले सम्पूर्ण निर्णय मेरो पक्षमा गरेको छ। अदालतले उहाँले लगाएका सबै झूटा आरोपलाई अस्वीकार गर्दै, मसँग उहाँको कुनै वैवाहिक सम्बन्ध नरहेको र उहाँले अर्कै पुरुषसँग वैवाहिक सम्बन्ध राखेको ठहर गरेको छ।
त्यसैगरी, सोही फैसलामा, उहाँले मेरो घर कब्जा गरेर बसेको घरबाट उहाँलाई हटाइएको छ। अदालतले म माथी घरेलु हिंसा भएको ठहर पनि गरेको छ र उहाँले अब कहिल्यै घरेलु हिंसा नगर्ने वचन दिनुभएको थियो र मसँग यसको प्रमाण पनि छ। घरेलु हिंसा नगर्ने वचन दिएपछि उहाँलाई अदालतले छोडेको हो।
वास्तविकता
लक्ष्मीजी र उनका पूर्व श्रीमानबीच अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ। आफ्नो पक्षलाई बलियो बनाउन लक्ष्मीजीलाई बदनाम गर्न मेरो नाम र फोटो प्रयोग गरेर मेरो र उहाँको चरित्र हत्या गर्ने प्रयास भइरहेको छ।
अहिले केही व्यक्तिहरूले सामाजिक सञ्जालमा मेरो नाम र फोटो प्रयोग गर्दै लक्ष्मीजी र मलाई बदनाम गर्ने प्रयास गरिरहेका छन्। यो केवल हाम्रो चरित्र हत्या गर्न गरिएको प्रयास हो।
मेरो अपिल
मैले व्यावसायिक र व्यक्तिगत सीमाभित्र रहेर मात्र सहयोग गरेको थिएँ। यो कुरा पुष्टि गर्न मसँग प्रमाणहरू छन्।
कृपया सामाजिक सञ्जालमा फैलाइएका झुटा समाचारमा विश्वास नगर्नुहोस्।
घरेलु हिंसाको पीडितलाई सहयोग गर्नु गलत होइन, तर त्यसलाई गलत तरिकाले प्रयोग गरेर कसैलाई फसाउनु आपत्तिजनक हो।
अदालतले मेरो पक्षमा फैसला गर्दै सत्यको प्रमाण दिएको छ।
म आफ्नो प्रतिष्ठा जोगाउन र यो अन्यायको सामना गर्न कानूनी प्रक्रियामा छु। सबैलाई आग्रह गर्दछु कि वास्तविकता बुझेर मात्र धारणा बनाउनुहोस्। यो पोस्ट मेरो चरित्र रक्षा र सत्यको पक्षमा आवाज उठाउनको लागि हो।
तपाईंको समझदारी र सहयोगको लागि धन्यवाद।