केजिन राई , लुभेन । बेल्जियमको लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग बेल्जियमका नेपाली समुदायले भेटवार्ता गरेको छ ।
शैक्षिक नगरीको रूपमा युरोपभर परिचित लुभेन नगरपालिकामा मेयर रूदुवानी दोश्रो कार्यकालका लागि निर्वाचित भएसंगै पहिलो पटक नै नेपाली समुदायसंग भेटवार्ता गरेको हो । भेटघाटका क्रममा रुदुवानीलाई दोश्रो पटक मेयरमा निर्वाचित भएको भन्दै नेपाली समुदायको टोलीले बधाई एवं शुभकामना ज्ञापन गरेको थियोे ।
नेपाली समुदायको तर्फबाट बधाई ग्रहण गर्दै रुदुवानीले निर्वाचनमा आफू र आफ्नो पार्टीलाई अग्रपंत्तीमै रहेर सहयोग गरेको भन्दै नेपाली समुदायलाई धन्यबाद समेत दिनुभएको थियोे ।
सो अवसरमा मेयर रूदुवानीले निर्वाचनपूर्व गरेका नेपाली समुदायका मुलभूत मागहरूको कार्यान्वयन प्रकृया नगरपरिषदबाट आऊदो अप्रिल महिना पछी थाल्ने बताऊनुभयो ।
“आगामी डिसेम्बर २ तारिख सपथ ग्रहण पश्चात सबैको सहकार्यमा नेपाल र नेपालीत्व झल्कने मागहरूलाई प्राथमिकतामा राखेर अघि बढिनेछ,- मेयर रूदुवानीले भन्नुभयो।”
लुभेन क्यासेल्लो लगायत आसपास क्षेत्रमा नेपाली चौतारी निर्माण , बुद्ध मार्ग वा माऊन्ट एभरेष्ट पथ (स्त्रात ) नामाकरण नयाँ ठाँऊको नामाकरणमा सजिलो तर पुरानो भैरहेकोमा परिवर्तन चाही अलि जटिल हुने उनको भनाई थियोे ।
आगामी अप्रिल महिना पछी मिति तय भइनसकेको भएपनि नेपालका बिभिन्न क्षेत्र, नगर र हिमाली क्षेत्रको ओैपचारिक रुपमा भ्रमण हुने उहाँले जानकारी दिनुभयो।
नेपाल भ्रमणको कार्यक्रम पारित भई निश्चित भइसकेको छ । अन्य आवश्यक गृहकार्य सचिबालयले गरिरहेको छ मेयर रूदुवानीले उत्साहित र हर्षित मुद्रामा भन्नुभयो,- “नेपाल भ्रमण मेरो लागि अहोभाग्य हो।”
बागलुङका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ नोभेम्बर अन्तिम साता बेल्जियम आऊने कार्यक्रम रहेको र सो अवसरमा लुभेन नगर प्रमुख सँग भेटघाटको कार्यक्रम समेत तय भएको बताइएको छ ।
लुभेन नगरको ५ सय गाडी पार्किंग क्षमताको सबैभन्दा ठूला-ठूला कन्सर्ट , मेला ,फेष्टिभल हुने स्थल “इन्डोर ब्राबान्थल “ नि:शुल्क ,सित्तैमा नेपाली समुदायलाई प्रयोगका लागि दिने बताऊनुभयो ।
भेटघाट कार्यक्रममा नेपाली समुदायका प्रतिनिधीहरू नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरण कुमार खवास, गैरआवासीय नेपाली सँघ बेल्जियम पूर्व अध्यक्ष द्वय गंगाधर गौतम र खडक बहादुर केसीले मेयर संगको भेटघाट उपलब्धिमूलक र नेपाली समुदायको लागि निकै खुसिको कुरा भएको बताउनुभयो ।
नेपाल फुड फेष्टिभल गर्न ३ दिनको बिजुलीपानी , ग्यास बाहेक ४५ हजार युरो शुल्क लाग्ने “ इन्डोर ब्राबान्थल “ मा साकिरा जस्ता चर्चित कार्यक्रम , कोरोना कहरमा सबैलाई कोरोना खोप दिईएको सो स्थलमा गएको हप्ता अमेजोन, जोलान्दो ,बोल लागायत प्रख्यात कम्पनीहरूले प्रदर्शनी गरेको थियो ।
युरोपकै सफा नगरको रूपमा पुरस्कृत लुभेन नगरपालिका बिश्वब्यापी रूपमा बिश्वबिध्यालय र बिध्यार्थीको शहरको नामले समेत परिचित छ ।जहाँ हजारौको संख्यामा नेपाली मूलका मानिस स्थायी रूपमा बसोबास गर्दै आईरहेका छने । यहाँ सम्मकी Poortveldstraat,Gementestraat लगायत मार्गहरूमा लहरै २०देखि ४० घर सम्म नेपालीहरूले स्थायी रूपमा निजीनिवास ग्रहण गरेर बस्दै आएका छन ।
एक सय ७० भन्दा बढी मुलुकका बासिन्दा रहेको र ठूलो संख्यामा ब्यापार – व्यवसायसमेत संलग्न नेपाली रहेको लुभेनमा नेपाली सांस्कृतिक केन्द्र वा सो को लागि खरिद गर्न उपयुक्त जग्गा खोजिको कार्य समेत नेपाली समुदायको पॅाच बुँदे तत्कालिन एवंम दीर्घकालिन मागहरु रहेका छन् ।
लुभेन र नेपालको बागलुङ नगरपालिका बिचको भगिनी सम्बन्ध स्थापना ,नेपाली कला, संस्कृति, नृत्य, भाषाकक्षाहरूको लागि उपयुक्त एउटा स्थल निर्माण गर्न अनुरोध गरिएको छ ।
मेयर रूदुवानीसंग चौथौ र पॅाचौ मागपत्रमा लुभेनको एउटा सडकको नाम, उदाहरणका लागि, एभरेष्ट स्ट्रीट, बुद्ध स्ट्रीट, वा लुम्बिनी स्ट्रीट गरिदिन तथा नेपालबाटै बर-पिपल ल्याएर रोप्न र नेपालको प्यास मेटाऊने स्थलको रूपमा नेपाली चौतारी बनाऊन उपयुक्त स्थान अनुदान या खरिदको निम्ति पुन: आग्रह गरिएको छ ।
अक्टोबर १३ मा सम्पन्न स्थानीय निकायको निर्बाचनमा मेयर रूदबानीको (Vooruit) भुरईत अग्रगामी पार्टीले एकल बहुमतका लागि १ सिट अपुग सहित कुल मतको ४१.७ प्रतिशत पाएको थियो ।
बिगत दशौ बर्षदेखि नेपाली समुदाय मार्फत् नगरपालिकासंग बिभिन्न खाले कार्यक्रमहरु सहकार्यमा गरिदै आएको र समुदायले आफ्नो तर्फबाट बिभिन्न मागहरु सार्वजनिक सभा सम्मेलन एवंम नगरपालिकामा प्रतिनिधि मार्फत भेटघाटद्वारा जानकारी गराउदै आएका छन ।तर यसको कार्यान्वयन र अगाडी बढाउने प्रकियामा औपचारिक रूपमा समुदायको तर्फबाट सामुहिक हस्ताक्षर सहित हस्तान्तरण गरेको भने पहिलो पटक हो । यसको सम्बोधन हुनेमा सबै आशाबादी रहेका छन् ।
केही समय पहिले बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षरित बाग्लुङ नगरपालिका र लुभेन नगरपालिका बिच भगिनी सम्वन्ध स्थापित गरेर बिकास निर्माण, आपसी भाईचारा, पर्यटन प्रवर्धन, एबम दुई नगर बिच सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहितको पत्र बाग्लुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्त र सिङ्गो समुदायको तर्फबाट नगर प्रमुखलाई हस्तान्तरण गरेको थियोे ।
उक्त भेटवार्तामा कार्यक्रममा बिषेशत: लुभेनमा बसोबास गर्ने नेपाली संघ संस्थाका अध्यक्ष एवंम प्रतिनिधिहरू सहाभागी भेटबार्तामा समुदायको तर्फबाट एनआरएनए अन्तराष्ट्रीय समन्वय परिषद उपाध्यक्ष ,एनआरएनए बेल्जियम पूर्ब अध्यक्ष गंगाधर गौतम ,एनआरएनए बेल्जियम निबर्तमान अध्यक्ष खडक बहादुर केसी, गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव रूबिना शर्मा , नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, अन्तर्राष्ट्रिय पर्बत समाजका निवर्तमान अध्यक्ष झलक केसी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, बागलुङ समाज वेल्जियमका अध्यक्ष महेन्द्र पन्त, आईटी बिज्ञ प्रशान्त शर्मा लगायत सहभागी हुनुभएको थियोे ।