२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

पोर्चुगलमा भव्यताका साथ मनाइयो बुद्धजयन्ती

0 Shares

भरत प्रधान, लिस्बन। विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्ती पोर्चुगलमा भव्यताका साथ मनाइएको छ ।

लिस्वन स्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको आयोजना तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका साथै यहां क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बिहीबार भव्यताका साथ बुद्धजयन्ती मनाइएको हो ।

सोे अवसरमा राजधानी लिस्बनमा भगवान गौतम बुद्धको विशेष पूजाआराधना गरिनुका साथै बृहत् शोभायात्रा निकालिएको थियो । रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको बाक्लो सहभागिता रहेको थियो ।
बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा, सांस्कृतिक वेषभूषा र बाजागाजा सहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए । शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो । सो अवसरमा नेपालको पर्यटन प्रबृद्र्धन गर्ने तथा बुद्ध सम्बन्धी जानकरी दिने अँग्रेजी र पोर्चुगिज भाषामा लिखित नेपालको धार्मिक पर्यटन र बुद्ध सम्बन्धी जानकारीमूलक पर्चा समेत वितरण गरिएको थियो ।

शोभायात्रापछि मार्तिम मुनिज पार्कमा आयोजित कोणसभामा पोर्चुगिज बौद्ध धर्मगुरु गिर्मे लामा र नेपाली लामा फुरीले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिएका थिए ।

कोणसभामा नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर, महावाणिज्यदूतावासका कार्यालय प्रमुख छविलाल बगालेलगायतले बोल्दै बुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताए । यसअघि नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको संयोजनमा मार्तिम मुनिज पार्कमा पोर्चुगिज तथा नेपाली धर्मगुरुद्वारा भगवान् बुद्धको विशेष पूजाआरधनासमेत गरिएको थियो ।

विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि भव्यताका साथ बुद्ध जयन्ती मनाइएको महावाणिज्यदूतावासले जनाएको छ ।

र्‍यालीमार्फत भगवान् गौतम बुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गरिएको तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशसमेत प्रवाहित गरिएको बताइएको छ।

प्रतिक्रिया