लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती भब्यताका साथ मनाइएको छ ।
अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा बुधबार राजधानी लिस्बनमा युगकवि श्रेष्ठको जन्मजयन्ती मनाइनुका साथै काव्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा अनेसास पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठले लेखेको मुक्तक कृति अपरिभाषित आभाको प्रमुख अतिथि नेपालबाट आएका एपेक नेपालका अध्यक्ष वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ तथा विशिष्ट अतिथि बेलायत निवासी अनेसासका सल्लाहकार डा. रुपक श्रेष्ठ लगायतले सामूहिक रुपमा लोकार्पण गरे । सो अवसरमा बोल्दै वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले नेपाली साहित्यलाई अनेसासको माध्यमबाट विभिन्न देशका विभिन्न भाषामा अनुवाद गरेर विश्व साहित्यमा पुर्याउन जोड दिनुपर्ने बताए ।
विशिष्ट अतिथि डा. रुपक श्रेष्ठले अनेसासले विश्व साहित्यलाई जोड्नका लागि पुलको काम गरेको बताए । साहित्यकार मुना चौधरीले अपरिभाषित आभा कृतिमाथि टिप्पणी गरेकी थिइन् । कार्यक्रममा आठौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न गर्न विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्तित्वहरुलाई धन्यवाद पत्र अर्पण गरी सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए पोर्चुगलकाअध्यक्ष उमेश खड्का, अनेसास पोर्चुगलका सल्लाहकार तथा एनआरएनए निवर्तमान अध्यक्ष रबिन अधिकारी, एनआरएनए आइसिसि सदस्य राजकुमार थापा, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, व्यवसायी सूर्य हमाल, समीर भट्टराई, नारायणकाजी मगर, सञ्चारकर्मी भरत प्रधान, छविलाल बगाले, अनेसास दर्पणका कार्यकारी सम्पादक तथा इप्रेस प्रालिका कार्यकारी निर्देशक रमेश दाहाल, गायक तथा सङ्गीतकार अर्जुन सुनाम, दुर्गा थापा, युन्छेमी सुब्बा लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा नवलपुर समाजका अध्यक्ष प्रेम बुढापृथी, तमु समाजका निवर्तमान अध्यक्ष विकास गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाजका सचिव गजलकार सोम अनुराग, गायक तथा सङ्गीतकार सुनिल परियार, राजन श्रेष्ठ, सुदिन आचार्य, रेखा नेपाली लगायतले शुभकामना तथा रचना वाचन गरेका थिए ।
गायक तथा सङ्गीतकार सुनिल परियारले राजमति कुमति बाँसुरीको धुनबाट सुनाए भने गायक तथा सङ्गीतकार अर्जुन सुनाम लगायतले सिद्धिचरण श्रेष्ठको चर्चित कविता मेरो प्यारो ओखलढुंगा गाएर सुनाएका थिए । कार्यक्रम अनेसास पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठको अध्यक्षता, सल्लाहकार अर्जुन श्रीको स्वागत तथा महासचिव एन.बी. अन्जानको सञ्चालनमा सम्पन्न भएको थियो ।