२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

0 Shares
Spread the love

 

भरत प्रधान,लिस्बन,। विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको अवसरमा युरोपेली मुलुक पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ ।

 

लिस्वन स्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको आयोजना तथा एनआरएनए पोर्चुगलका साथै यहां क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।

 

भगवान गौतम बुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने उद्धेश्यले बिशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको २५६८ औं बुद्ध जयन्ती मूल आयोजक समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो ।

 

बुद्धजयन्तीको अवसरमा राजधानी लिस्बनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजा आरधना लगायतका कार्यक्रम तय भएको महावाणिज्यदूत हमालले बताउनुभयो । उहाँका अनुसार मार्तिम मुनिज पार्कमा बिहान ९ बजे देखि बौद्ध धर्म गुरुद्धारा बुद्धको विशेष पूजा आरधनाको कार्यक्रम तय गरिएको छ भने दिउँसो ३ः३० बजे प्रासा दि कमर्सियोेबाट बृहत् शोभायात्रा शुरु हुनेछ । बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकी सहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्नेछ ।

 

शोभायात्रामा पोर्चुगलबासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहने बताईएको छ । शोभायात्रामा सहभागी भई बुद्धभूमि नेपाल र नेपालीहरुको गौरव बढाउन महावाणिज्यदूत हमालले पोर्चुगलबासी नेपालीहरुलाई बिशेष आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया