२०८१, १८ बैशाख मंगलवार
×

ट्रेन्डिङ

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

0 Shares

भरत प्रधान,लिस्बन। पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् ।

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक (जीव) खाना खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर भने हालसम्म बेपत्ता रहेको योञ्जनले बताए ।

धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक (जीव) खाना खोज्न समुद्रमा गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको उनले बताए । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ ।

धनबहादुर र टेकबहादुर सँगै समुद्रमा गएका साथीले दुवै जना समुद्रमा बेपत्ता भएको बताएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए । उद्धार टोलीले शनिबार देखि नै विभिन्न माध्यम मार्फत् उनीहरुको खोजी गरेको थियो । बेपत्ता भएका टेकबहादुरको खोजीकार्य जारी रहेको भट्टराईले बताए ।

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । भने चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए ।

नाताले काकाभतिज पर्ने दुवैजना मोन्तिजो बस्दै आएका थिए । घटनाको विषयमा नेपालमा रहेका उनीहरुका परिवारलाई जानकारी गराईसकिएको बताईएको छ ।

प्रतिक्रिया