२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

पाँचथरकी झरनाले गरिन् पोर्चुगलमा आत्महत्या

0 Shares

भरत प्रधान, लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएकी एक नेपाली चेलीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

 

पोर्चुगलको मदेइरा बस्दै आएकी पाँचथर फाल्गुनन्द गाँउपालिका–५ की २७ वर्षीया झरना चेम्जोङले झुण्डिएर आत्महत्या गरेकी हुन् । चेम्जोङले गत शनिवार बेलुका आफू बस्ने कोठाको डबलडेकर बेडमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदीले जानकारी दिए ।

 

बिदाको दिन एक्लै कोठामा रहेकी उनले ढोका बन्द गरेर आत्महत्या गरेको उनले बताए । सँगै बस्ने साथीहरु कामबाट आएर राति ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेको र प्रहरी आएर ढोका खोल्दा चेम्जोङ झुण्डिएको अवस्थामा रहेको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।

 

रोजगारीका सिलसिलामा साईप्रस हुदै पन्ध्र महिना अघि पोर्चुगल आएकी चेम्जोङ मदेइरा स्थित एक होटेलमा कार्यरत थिईन् । उनी होटेलले उपलब्ध गराएको कोठामा अन्य साथीहरु सँगै बस्दै आएकी थिईन् ।

 

चेम्जोङले झुण्डिएर आत्महत्या गरेको भएपनि के कारणले आत्महत्या गरेको हो भन्ने विषय भने खुलिनसकेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनको शव परीक्षणका लागि मदेइरा स्थित एक अस्पतालको शवगृहमा राखिएको महावाणिज्यदूत हमालले बताए । घटनाको विषयमा परिवारलाई जानकारी गराईसकिएको र उनको शव नेपाल पठाउने वा यहीँ अन्त्यष्टि गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

 

चेम्जोङकी ८ बर्षीया छोरी र श्रीमान नेपालमा रहेका छन् ।

प्रतिक्रिया