
भरत प्रधान लिस्बन। उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो । गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा दुई हजार दुई सय ४६ युरो आर्थिक सङ्कलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो ।
स्वीट्जरल्याण्डका नेपाली समुदायसँग सङ्कलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैङ्क खातामा पठाइएको तामाङले जानकारी दिनुभयो ।उपचार नपाएर बिदेशी भूमिमा छट्पटीएकी नेपाली चेलीको पीडामा मल्हम लगाउन र उपचारमा थोरै भएपनि राहत होस् भन्ने उद्धेश्यले रकम संकलन गरि पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको तामाङले बताउनुभयो ।
वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ ।
यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार सम्प्रेषण भएको थियो । पीडित मोक्तानको औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।