
लण्डन । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष सहित तीन जना प्रतिनिधि बेलायत आईपुगेका छन् ।
टोलीमा आश्रमका महासचिव शुशिला केसी र सचिव सुमन बर्तौला छन् । २२ दिन बेलायतमा रहने यो टोलिले बेलायतमा रहेका नेपालीहरुमाझ सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि अन्तरक्रिया कार्यक्रम र बेलायतको विभिन्न सहरमा आमा सेमिनार आयोजना गर्नेछ।
मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिल बाबु खड्काका अनुसार सेप्टेम्बर २४ तारिकका दिन बेलायतका लागि नेपालका महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा इम्पायर बेङक्वेटीङ हल, हाइस्ट्रिटमा र २५ तारिकमा नटिङ््घममा, १७ तारिकमा साउथ इस्ट लण्डनमा कार्यक्रम तय भएको छ ।
अन्य कार्यक्रमहरु तय हुने क्रममा छन् । विशेषगरी बेलयतमा यस पटक आमा सेमिनार प्रस्तुत हुनेछ ।
सबै कार्यक्रममा प्रवेश निशुल्क हुने र कार्यक्रमलाई सफल बनाउन सकैले स्वेच्छाले सहयोग गरे त्यसलाई स्वीकार गरिने मानवसेवा आश्रम यूके च्यापटर संयोजक खड्का बताउनुहुन्छ ।
मानवसेवा आश्रमले सम्बत् २०६९ (ई.सं २०१२ मा) मा परिवार बस्न बनाएको घरको दुई तला भाडामा लिइ हेटौंडा ५ सानोपखराबाट सेवा सुभारम्भ भएको थियो। यस आश्रमले नेपाललाई नै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ भने हाल सोही लक्ष्य प्राप्तीको लागि देशको २४ स्थानमा सेवाकेन्द्रहरु विस्तार गरी सेवालाई देशव्यापी बनाएको छ ।
लक्ष्य प्राप्तिका लागि नागरिकमा सामाजिक भावनाको विकास गराउने र सरकारलाई जोखिममा रहेका नागरिकको उद्धार र संरक्षणको प्रमुख दायित्वबाट विमुख हुन नदिने प्रयत्नमा मानवसेवा आश्रम रहेको मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारी बताउछन् ।
उहाँको अनुसार, आजको एक्काइसौं सताब्दीमा समेत एक समूह मान्छेकै भेषमा जन्म लिएर पनि नारकिय जीवन विताउन बाध्य छन् । एक गाँस भोजन र एक सरो कपडाको अभावमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताइरहेका छन् ।
कति सडकआश्रित बनेका मनोरोगी महिला दिदीबहिनीहरु मठ मन्दिर र पाटी पौवामै समेत बलात्कृत हुने गरेका छन् । बृद्धबृद्धा र बालबालिकाको अवस्था यो भन्दा कम छैन । यस्तो दुराअवस्थालाई कहिले सम्म टुटुटुलु हेरीबस्ने ? संविधानले हरेक नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिदिएको छ तर व्यवहारतः यस्तो भइरहेको छैन । अभिभावकविहीनलाई अभिभावकत्व प्रदान गर्ने प्रयास र प्रयत्न निरन्तर गरिरहेका छौं तर देशलाई नै बेसहारा मुक्त बनाउने कुरा हाम्रो मात्र प्रयासबाट सम्भव छैन।
त्यसैंले देश विशेषमा रहेका नेपाली नागरिकहरुको सहयोग र सद्भाव प्राप्त गर्न विशेष यात्रा सुभारम्भ गरिएको हो ।
११ बर्षमा मानवसेवा आश्रमले झण्डै ८५०० बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरी तीनको मानवोचित व्यवस्थापन गरिसकेको छन् । जसमध्ये करिब १६०० जना हाल मानवसेवा आश्रमको संरक्षणमा छन् ।