२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

प्रवासी नेपालीले जन्मभूमिमा गरेको सेवाको राजेश हमालले गरे प्रशंसा

0 Shares

लन्डन – हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा संचालित बाल गृहको सहयोगार्थ आयोजित च्यारिटी डिनरमा महानायक राजेश हमाल सहभागी भएका छन्।

ब्ल्याकहिथस्थित एभरेस्ट इनमा सोमबार आयोजित ‘ब्ल्याक टाइ डिनर’ कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता हमालले विदेशमा बस्ने नेपालीले जन्मभूमिमा आवश्यकतामा परेका अरु नेपालीलाई गर्दै आएको सहायता प्रशंसनीय रहेको बताए।

विदेशबाट कसैले सानो योगदान दिंदा स्वदेशमा ठूलो समुदायलाई राहत मिल्न सक्छ भन्दै उनले आफूबाट सम्भव हुने कुनै पनि सहयोगका लागि पछि सर्न नहुने धारणा राखे।

हेल्प नेपाल नेटवर्कबाट नेपालमा भएका थुप्रै परोपकारी कामहरुबारे जानकारी लिएको भन्दै उनले नेटवर्कले गर्दै आएका परोपकारी कामको प्रशंसा गरे। यस्ता सहयोगी अभियानमा जोडिएर सक्दो योगदान गर्न सबै प्रवासी नेपालीलाई उनले आव्हान पनि गरे।

जुनसुकै देशमा रहेपनि आफ्नो वास्तविक पहिचान कहिल्यै नफेरिने बताउंदै उनले डायस्पोरामा हुर्किंदै गरेको नयाँ पुस्तासम्म पनि नेपाली संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे।

उक्त अवसरमा हेल्प नेपाल नेटवर्क युकेका प्रसिद्ध प्रधानले नेटवर्कले नेपालमा गरेका परोपकारी कामहरुका साथै हेल्प नेपाल बाल गृहको बारेमा जानकारी गराएका थिए।

उक्त कार्यक्रमबाट संकलित रकम खर्च कटाएर हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरिरहेको बाल गृहको लागि पठाइने हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले बताए। उनले उक्त कार्यक्रममा सहभागी तथा सघाउनु हुने सबैलाई धन्यवाद पनि दिए।

सन् २०१४ देखि सञ्चालित उक्त बालगृहमा अहिले २२ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।

महिनामा जनही १०० पौण्ड सहयोग गरेर ती बालिकाहरुको शिक्षामा प्रायोजन गर्न सकिने हेल्प नेपाल नेटवर्क युकेले जनाएको छ।

प्रतिक्रिया