२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

जापानमा नेपाली महिलाको छुरा रोपी हत्या, एक नेपाली नै पक्राउ

100822 Shares
Spread the love

टोकियो। हत्याको आरोपमा जापानमा एकजना नेपाली पक्राउ परेका छन्। विश्वराज आचार्य नाम गरेका ती नेपालीलाई जापान प्रहरीले एउटी नेपाली नै महिलाको हत्या गरेको आरोपमा नोभेम्बर १७ तारिक विहीबार पक्राउ गरेको हो।

 

आफ्नै अपार्टमेण्टमा बसेकी लक्ष्मीकुमारी बस्नेत अधिकारी नामकी महिलाको नोभेम्बर १६ तारिक बुधबार छुरा रोपी हत्या भएको स्थानीय प्रहरीले जनाएको छ।

जापानको राजधानी शहर टोकियोको उत्तरी भागमा पर्ने गुन्मा प्रिफेक्चरमा यो घटना भएको थियो। हत्या गरिएकी लक्ष्मी सो प्रिफेक्चरको इसाकी सिटी भन्ने ठाउँमा एउटा अपार्टमेण्टमा बस्ने गरेको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

 

हत्यापछि रगत लागेको छुरासहित एउटा व्यक्ति सो अपार्टमेण्टबाट बाहिरिएको सीसीटीभी फुटेजका आधारमा प्रहरीले सन्दिग्धको खोजी गर्दै आएको थियो। यसैक्रममा आचार्यलाई जापानी समुद्र नजिकको निकाता भन्ने स्थानबाट पक्राउ गरिएको थियो।

जापानी संचारमाध्यम एनएचके लगायतले यसबारे समाचार प्रकाशित गरे पनि हत्या गरिएकी लक्ष्मीकुमारी बस्नेत अधिकारी को हुन् र हत्याको आरोपमा पक्राउ परेका विश्वराज आचार्य को हुन् भन्नेबारे विस्तृत विवरण दिएका छैनन्। हत्यामा आफ्नो संलग्नता नभएको भन्दै आचार्यले अभियोग अस्वीकार गरेको भने समाचारमा उल्लेख गरिएको छ।

 

छुरा प्रहारबाट मारिएकी लक्ष्मीकुमारी ४२ बर्षकी भएको जापानी टेलिभिजन एनएनएनले दिएको समाचारमा उल्लेख गरेको छ । जापानी भाषाको सो समाचारमा उनको तस्वीर र उनी बस्ने गरेको अपार्टमेण्टको बाहिरीभाग पनि देखाइएको छ।

प्रतिक्रिया