२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

बेलायतका नेपाली कानून व्यवसायीले चुने नयाँ अध्यक्ष

79759 Shares
Spread the love

लन्डन। बेलायतमा क्रियाशिल नेपाली कानून व्यवसायीहरुको संस्था ‘ब्रिटेन नेपाल लयर्स एशोसिएसन’ मा नयाँ नेतृत्व चुनिएको छ।

 

शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटीमा सम्पन्न एशोसिएसनको चौंथो अधिवेसनले सोलिसिटर दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

सर्वसम्मतिमा निर्वाचित कार्यसमितिमा उत्तरमान तिगेला उपाध्यक्ष, जिनिता पन्धक सचिव, प्रकाश पोखरेल सहसचिव, सरिता मगर कोषाध्यक्ष, रोजन भण्डारी सहकोषाध्यक्ष तथा विष्णु बुढाथोकी र विपिन रेग्मी सदस्य छन्।

 

नयाँ समिति निर्वाचनको प्रक्रियामा निर्वाचन आयुक्तको भूमिका बुद्धिजीवी शिवजी श्रेष्ठले निर्वाह गरेका थिए।

 

एशोसिएसनका निवर्तमान अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा झन्डै तीन दर्जन बेलायतस्थित नेपाली कानून व्यवसायी सहभागी थिए ।

 

नवनिर्वाचित अध्यक्ष भट्टराई बेलायतमा स्थापित नेपाली कानून व्यवसायी हुन्। झन्डै १४ बर्षदेखि यस पेशामा आवद्द उनले बेलायतस्थित नेपाली कानून व्यवसायीहरुको संगठन, क्षमता विकाससंगै स्थानीय नेपाली समुदायसँगको सहयोग र सहकार्य प्रवर्द्धन हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

 

अध्यक्ष भट्टराईले बेलायत र नेपालको परिवर्तित कानूनबारे नियमित सेमिनार, नयाँ सोलिसिटरहरुलाई सुझाव सल्लाह र आवश्यक सहयोग गर्ने अठोट पनि व्यक्त गरे ।

 

नयाँ नेतृत्व चुन्नु अघि प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य, प्रा. डा. सूर्यप्रसाद सुवेदी (केसी), ब्यारिस्टर राफेल जेसुरम र केसी टिम बार्न्सले कानून र बेलायत नेपाल सम्बन्धका विभिन्न आयामबारे मन्तव्य दिए ।

 

प्रमुख अतिथी राजदूत आचार्यले बेलायत नेपाल सम्बन्ध, बेलायतले नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकास, न्यायिक प्रणाली सुधार र नेपालमा ब्रिटिश लगानीका सम्भाव्यता आदिबारे बताए ।

 

गोर्खा मुद्दामा लामो अनुभव संगालेका ब्यारिस्टर राफेलले भूतपूर्व गोर्खा र उनीहरुलाई न्याय तथा मानवअधिकार सम्बन्धमा आफ्नो विचार राखेका थिए ।

 

प्रा. डा. सुवेदीले बेलायत नेपाल सम्बन्ध र विभिन्न सन्धि, बेलायतको प्रजातान्त्रिक मूल्य मान्यता तथा नेपालमा बेलायती लगानीका कानूनी पक्षबारे व्याख्या गरे ।

 

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिस्ठ अधिवक्ता गोपाल कृस्ण घिमिरे र बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेल जुममार्फत नेपालबाट जोडिएका थिए ।

 

घिमिरे र पोखरेलले गैर आवासीय नेपालीको दोहोरो नागरिकता, विदेशबाट ज्ञान र सीप हस्तान्तरण, वैदेशिक लगानी आदि पक्षबारे बोले ।

 

कार्यक्रम निवर्तमान महासचिव तथा अधिवक्ता अमृत खरेल र सचिव जिनिता पन्धकले सन्चालन गरेका थिए ।

 

कार्यक्रमका सहभागीले यस खालको अन्तरक्रिया उपयोगी लागेको जनाउंदै निरन्तरतामा जोड दिएका थिए ।

प्रतिक्रिया