२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

सचिन श्रेष्ठको अध्यक्षतामा हेल्प नेपाल युकेको नयाँ कार्यसमिति गठन

2569 Shares

लन्डन। बेलायतस्थित कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क यूके, को नयाँ कार्यसमिति गठन गरिएको छ ।

गत आइतबार पूर्वी लन्डनको स्ट्र्याटफोर्डमा सम्पन्न बोर्ड अफ ट्रस्टिजको विशेष बैठकले सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो। एनआरएनए युकेको कोषाध्यक्ष रहीसकेका श्रेष्ठ गएको दश वर्षदेखि हेल्प नेपाल नेटवर्क यूकेमा कोषाध्यक्षको जिम्मेवारीमा थिए।“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो।

नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।तीन वर्षे कार्यकाल ( २०२२-२५) का लागि नवनिर्वाचित कमिटीमा यादव भण्डारी उपाध्यक्ष, प्रदिप पनेरु महासचिव, डा. सुदर्शन गुरुङ सचिव र प्रतिमा जोशी कोषाध्यक्ष छन्। त्यस्तै कमिटीको सदस्यमा प्रसिद्ध प्रधान, भगीरथ योगी, कुलदीप प्रधान र लछुमन गुरुङ चुनिएका छन्।

थप दुइजना सदस्य कार्य समितिले छिट्टै मनोनयन गर्ने र सल्लाहकारहरु पनि थप गरिने बताइएको छ ।मुख्यत: आफ्नो सहयोगलाई स्वास्थ्य र शिक्षामा केन्द्रित गरेको नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापनालगायतका कार्य गरिसकेको छ। त्यस्तै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ।

संस्थाले थुप्रै निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्नुको साथै मुगुको विकट गाउँ मुर्मामा गएको १८ वर्ष देखि हेल्प नेपाल हेल्थ पोस्ट स्थापना गरी सञ्चालन गर्दै आएको छ। नेटवर्कद्वारा काभ्रेको धुलिखेलमा सञ्चालित बाल गृहमा बसेर अनाथ र विपन्न परिवारका २३ जना बालिकाहरुले शिक्षा प्राप्त गरिरहेका छन्।

हेल्प नेपाल नेटवर्कका बेलायत, अमेरिका, अष्ट्रेलियासहित विभिन्न ११ मुलुकमा शाखा स्थापना भएका छन्। ती शाखाहरुले संकलन गरी पठाउने कोषबाट नेटवर्कले नेपालमा आफ्ना परोपकारी परियोजना सञ्चालन गर्दै आएको छ।
संकलित कोषको हरेक पैसा परोपकारमै खर्च गर्ने नीति बनाएको नेटवर्कले छुट्टै अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज मात्रै व्यवस्थापकीय कामका लागि खर्च गर्ने गरेको छ।
बेलायतमा पनि नेटवर्कको शाखा यहाँको च्यारिटी कमिसनमा दर्ता भएर सञ्चालन हुँदै आएको छ।

युके शाखाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले परोपकारका क्षेत्रमा नेटवर्कले चलाइरहेको अभियानमा बेलायतबाट सक्दो सहयोग र सहभागिता सुनिश्चित गर्न आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाए। बैठकमा संस्थाको स्थापनाकालदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका डा प्रणव ज्ञवालीलाई सम्मान तथा बिदाइ गरिएको थियो।

 

प्रतिक्रिया