लिस्बन । नेपाली नारी समाज पोर्चुगलको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आईतबार राजधानी लिस्बनमा सम्पन्न भएको सभाले प्रस्तुत प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसमम्त पारित गरेको छ ।
सभाले यसअघि तय भएका कार्ययोजनालाई निरन्तरता दिने तथा महिला लक्षित बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।
सो अवसरमा बोल्दै पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकर बहादुर हमालले समाजले सामाजिक गतिविधी संगसंगै प्रवासमा नेपाली कला र संस्कृतीको जगेर्नामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
समाजले नेपाली महिलाहरुलाई लक्षित गरि आयोजना गर्ने कार्यक्रमहरु प्रशंसनीय रहेको भन्दै महावाणिज्यदूत हमालले यस्ता खालका रचनात्मक गतिविधीहरुलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा समाजका महासचिव पुनम गौतमले प्रगति प्रतिवेदन र सचिव मोनिका भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष सिता श्रेष्ठ शिवानीको अध्यक्षता, उपाध्यक्ष गिता रेउलेको स्वागत तथा महासचिव पुनम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा किरात राई सोसाईटीका उपाध्यक्ष मोनी राई, काठमाण्डौ समाज पोर्चुगलका सचिव सिर्जना महर्जन, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका कोषाध्यक्ष रेखा नेपाली, नवलपुर समाज पोर्चुगलका कार्यवाहक अध्यक्ष प्रेम बुढाप्रिठी, नेपाली ब्यबसायी गुमानसिंह कार्की लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
सो अवसरमा समाजद्धारा सञ्चालीत एक हप्ते व्युटिपार्लर तालिममा सहभागीहलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।