२०८३, २८ कार्तिक शुक्रबार
×

गैरआवासीय नेपालीको नागरिकताको विषय टुंगोमा पुर्‍याउन सक्दो पहल गर्छु : मन्त्री कार्की

212503 Shares

स्कटल्याण्ड। गैर-आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डले हाल बेलायत भ्रमणमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री, केदार कार्की संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा गरिएको  सो कार्यक्रमको अध्यक्षता स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीले गरेका थिए भने उपाध्यक्ष उज्वल कार्कीले स्वागत मन्तव्य राखेका थिए। सो कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गरेका थिए।

उक्त कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर-आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने कुरामा जोड दिएका थिए। साथै स्कटल्याण्ड राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूको लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गरी कार्य गर्नुपर्ने बताए।

अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्दै मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्‍याउने विषयमा सक्दो पहल गर्ने बताए।

उक्त  अन्तरक्रिया कार्यक्रममा एनआरएनए युकेका पुर्व उपाध्यक्ष श्रीमती रोजीना प्रधान राई, हिमालयन सेन्टरका अध्यक्ष टिका लिम्बु, नेपाल स्कटल्याण्ड एसोसीयसनका अध्यक्ष बिचय डंगोल तथा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू, व्यवसायीहरूको सहभागिता रहेको थियो।

सो कार्यक्रम नमस्ते सिमला प्यालेस् रेष्टुरेन्ट, काउदेनविथ्, स्कटल्यान्डमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया