२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

एनआरएनए अमेरिकामा सुवेदीकै नेतृत्वको कार्यसमिति वैधानिक : हल्लाको भरमा नलाग्न आग्रह

6403 Shares
Spread the love

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाले बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको कार्यसमिति यथावत रहेकाले कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

“गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाको निर्णय अनुसार केन्द्रमा बुझाउनु पर्ने सदस्यता शुल्क वापतको रकम हाल छुट्टै राखी त्यस बारे समयमै केन्द्रलाई जानकारी गराई सकिएको छ ।

एनआरएनए एनसीसीको विधानमा उल्लेख भएका डकुमेन्ट आइसीसीबाट प्राप्त हुना साथ उक्त रकम केन्द्रमा पठाउन कुनै आपत्ति नभएको अध्यक्ष सुवेदीले स्पष्ट पारी सक्नु भएको छ। एनआरएनए एनसीसी अमेरिकाको कार्य समितिले समेत यस विषयमा निर्णय गरिसकेको छ,” एनसीसी अमेरिकाका प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“एनसीसी अमेरिका अमेरिकी कानून अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न हामी सचेत गराउन चाहन्छौं। यस्ता झुट्ठा प्रचारवाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि हामी हाम्रा सबै सदस्यहरु तथा शुभेच्छुकहरुमा आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

यसै बीच एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राम सी पोखरेल र उप क्षेत्रीय संयोजक रामकुमार सुवेदीले विधान र विधि भन्दा बाहिर गएर विना आधार र कारण बुद्धि सागर सुवेदी अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका भङ्ग गरिएको भनी एनआरएनए अमेरिका क्षेत्रका केही पदाधिकारीहरुको नाममा आएको पत्र अवैधानिक भएको बताएका छन् ।

गत अप्रिल २३ तारिखमा बसेको एनआरएनए आइसीसीका पदाधिकारीहरुको बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बांकी रहेका एनसीसीहरुलाई अप्रिल ३० तारिख अगावै शुल्क बुझाउने विषयमा पहल थाल्ने निर्णय गरेको थियो ।

“त्यति हुँदा हुँदै पनि सदस्यता शुल्क नबुझाएको भन्दै अवैधानिक गतिविधि गर्नु मनासिब देखिँदैन,” वक्तव्यमा भनिएको छ। संस्थामा बेमेल र फुट देखाउन अवैधानिक रूपमा गरिएका गतिविधि प्रति खेद व्यक्त गर्दै बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघ अमेरिका यथावत रहेको एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक पोखरेल र सहसंयोजक सुवेदीले बताए ।

यस अघि अमेरिकाज क्षेत्रका संयोजक प्रकाश सापकोटा लगायतको नामबाट प्रकाशित एक विज्ञप्तिमा सदस्यता शुल्क केन्द्रमा नपठाएकाले बुद्धि सुबेदी नेतृत्वको एनसीसी अमेरिका भंग गरी तदर्थ समिति गठन गरिएको दावी गरिएको थियो।

प्रेस विज्ञप्ति जस्ताको तस्तै :

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष श्री बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको वैधानिक रूपले निर्वाचित कार्य समिति भङ्ग गरी तदर्थ समिति गठन गरिएको भन्ने समाचारहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ।

गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिकाको निर्णय अनुसार केन्द्रमा बुझाउनु पर्ने सदस्यता शुल्क बापतको रकम हाल छुट्टै राखी त्यस बारे समयमै केन्द्रलाई जानकारी गराई सकिएको छ। एनआरएनए एनसीसीको विधानमा उल्लेख भएका डकुमेन्ट आइसीसीबाट प्राप्त हुनसाथ उक्त रकम केन्द्रमा पठाउन कुनै आपत्ति नभएको अध्यक्ष सुवेदीले स्पष्ट पारी सक्नु भएको छ। एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिले समेत यस विषयमा निर्णय गरिसकेको छ ।

एकताको महाधिवेशन भनिएको सङ्घको दशौँ महाधिवेशन सम्पन्न भएको एक महिना पनि पुरा नहुँदै महाधिवेशनको मर्म र भावना विपरीत निर्वाचित कार्य समिति भङ्ग गरिएको भन्ने अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक र उपसंयोजकको नामबाट प्रकाशित विज्ञप्ति विधान विपरीत छ। एनसीसी अमेरिका अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न हामी सचेत गराउन चाहन्छौँ। यस्ता झुट्ठा प्रचार बाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि हामी हाम्रा सबै सदस्यहरू तथा शुभेच्छुकहरुमा आग्रह गर्दछौँ।

तोया दाहाल
प्रवक्ता
गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिका
मिति: २५ अप्रिल २०२२

https://www.nrnusa.org/press/press/pres-vijnypti-2/

प्रतिक्रिया