२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

एनआरएनएको महाधिवेशन मंगलबारदेखि शुरु हुन्छ: उपाध्यक्ष लामा

1944 Shares
Spread the love

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले प्रमुख संरक्षक शेष घले ले आह्वान गर्नु भएको दशौँ महाधिवेशन मंगलबार (२२ मार्च) देखि शुरु हुने जनाएका छन् ।

अदालतको आदेशले गर्दा महाधिवेशन रोकिने हो कि भन्ने प्रश्नमा दशौँ महाधिवेशन आयोजक समितिका संयोजक पनि रहेका लामाले भने,” उक्त आदेश संस्थापन पक्षका लागि मात्रै हो। हाम्रो महाधिवेशनबारे अदालतले केहि बोलेको छैन। त्यसैले काठमाडौँस्थित होटल याक एण्ड यतिमा महाधिवेशन पूर्ववत् रुपमै मंगलबारदेखि शुरु हुन्छ।“

सोमबार उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई अर्को आदेश नहुंदासम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

माननीय न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधबार (चैत्र ९ गते) बोलाउने र त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न अन्तरिम अल्पकालीन आदेश दिएको हो।
कुमार पन्तले नेतृत्व गरेको एनआरएनएले फर्जी मतदाताको आधारमा निर्वाचन गराउंदा संस्थामा क्रियाशील हुने सक्कली डेलिगेट्स (प्रतिनिधि) हरुको क्षमतामा गम्भीर असर पर्ने भएकाले उक्त निर्वाचन रोकी पाउं भनी एनआरएन अभियन्ताहरु चिन्तामणि सापकोटा र उमेश कुमार पुडासैनीले रिट दायर गरेका थिए। उक्त रिट निवेदन माथि प्रारम्भिक बहस पछि इजलासले त्यस्तो आदेश दिएको हो ।

अब अर्को फैसला नहुँदा सम्म एनआरएनएले आगामी चैत्र १० र ११ गते (२४ र २५ मार्च) मा गराउन लागेको निर्वाचन रोकिने एनआरएन युकेका उपाध्यक्ष तथा अधिवक्ता नारायण कंडेलले बताए। “मुख्य कुरा त रिट निवेदकले मागेको के हो भन्ने कुरा हेर्नु पर्दछ ।

यो अन्तरिम आदेश निवेदकको माग अनुसार आएको हुनाले प्रकृया स्थगनको कुरा अर्को पक्षमा मात्र लागु हुन्छ । प्रमुख संरक्षक शेष घलेले बोलाएको महाधिवेशन रोकिंदैन ।”
उपाध्यक्ष लामाले संसारभरिबाट एनआरएन डेलिगेट्स (प्रतिनिधि) तथा अभियन्ताहरु काठमाडौँ आउने क्रम जारी रहेको भन्दै महाधिवेशन आयोजनाको सम्पूर्ण तयारी पुरा भै सकेको जनाए। उनले कुनै पनि भ्रममा नपर्न र उत्साहपूर्वक महाधिवेशनमा भाग लिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया