२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

शेष घलेले संस्था जोगाउन लाग्नुभएको छ, सबैले साथ दिनपर्छ : उपाध्यक्ष लामा

1638 Shares
Spread the love

गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन यही मार्च २२ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । एनआरएनएका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा महाधिवेशन  आयोजना गरिंदै छ  । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ  । संघका ६५ मध्ये  झन्डै ५० ओटा  राष्ट्रिय समन्वय  परिषद (एनसीसी) हरुले प्रमुख संरक्षक शेष घलेलाई यो महाधिवेशन गर्न म्यान्डेट  दिएका बताइएको छ । उक्त  महाधिवेशनका बारेमा उपाध्यक्ष लामासँग गरिएको संक्षिप्त कुराकानी :

प्रमुख संरक्षक शेष घलेले महाधिवेशन आह्वान गर्नुभएको छ, तयारी कस्तो छ ?

तयारी एकदमै राम्रो ढंगबाट अगाडि बढेको छ । महाधिवशेनको म आफै संयोजक छु । तयारीका लागि टिम बनाएका छौं । भेन्यु लगायतका कुरा तय भइसकेका छन् । सबै साथीहरु एकदमै उत्साहित भएर लागि रहनुभएको छ । महाधिवेशनका लागि प्रतिनिधिहरु पनि आउने क्रम सुरु भइसकेको छ ।

महाधिवेशनका लागि कति वटा समिति बनेका छन् ?

महाधिवेशनका लागि हामीले ५ वटा समिति बनाएका छौं । ५ वटै समितिले आफ्नो जिम्मेवारी अनुसार काम थालेका छन् । हामीले हरेक दिन बिहान अपडेट पनि लिने काम गरेका छौं ।

यो अधिवेशनले संस्था फुटाउने त होइन ? 

यो अधिवेशनले संस्था फुटाउने पक्कै होइन । हामीले जहिले पनि विधि र विधान अनुसार काम गर्नुपर्छ भन्दै आएका छौं । त्यसका लागि सहमतिमा अघि बढ्न  तयार छौं । हामीले प्रतिनिधि छनोटको विषयमा देखिएका विकृति स्वच्छ र मर्यादित बनाएर, छानबिन गरेर काम गरौं भन्दै आएका थियौं । अहिले पनि सहमति गरेर अघि बढ्न तयार छौं । एकातिर सहमति भन्ने, नेताहरुकहाँ कुद्ने, सहमति हुँदैछ भन्ने, झुठो भ्रम छर्ने काम धेरै भएको छ । त्यो काम अर्को पक्षले बन्द गर्नुपर्छ । संस्था भयो भने हामी सबै हुने हो । हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं । त्यसकारण विश्वभर रहेका ४५ वटा एनसीसीहरुले प्रमुख संरक्षक शेष घलेलाई  संस्था जोगाउन आग्रह गरेपछि उहाँले यो कदम चाल्नु भएको हो । एनसीसीहरुले संस्था फुटाउन नभइ जोडेर नेतृत्व लिन आग्रह गर्नु भएको छ । अध्यक्ष कुमार पन्तले पनि बुझ्न जरुरी छ । उहाँ नेतृत्व लिइसक्नुभएको अध्यक्ष हो । सबैको भावना बुझेर संस्थालाई अगाडि बढाउनुपर्छ । अहिलेको अवस्थामा कुल आचार्य, बद्री केसी र रविना थापाले  मात्र होइन हामी सबैले संस्थालाई अगाडि बढाउने हो । व्यक्तिको एनआरएनए कहिल्यै हुन सक्दैन ।

संस्थामा प्रतिनिधि संख्या बारे नै  विवाद देखियो, तपाईंले छानविन गर्दा के पाउनुभयो ?

यो पहिलादेखि नै विरोध भइरहेको विषय हो । मैले उपाध्यक्षको हैसियतले  वैठकमा पनि यो भएन भनेर ‘नोट अफ डिसेन्ट’ लेखेको थिएँ । म संस्था विधि विधान र नियमावलीबाट चल्नुपर्छ भन्ने मान्यतामा विश्वास राख्छु । उहाँहरुले पहिला देखि नै ३६ सय बढी प्रतिनिधिको कुराहरु गर्दै आउनुभएको थियो । पछि संरक्षक परिषदको नेतृत्वमा हामीले उच्चस्तरीय छानविन समिति बनायौं । समितिले प्रतिनिधिहरुको छानविन गर्न मलाई जिम्मा दियो।  मैले चिठी पाएपछि काम गरेँ । काम गर्दा क्राइटरिया अनुसार सिईओ र आईटीका साथीहरुको सहयोगमा ३ दिन समय लगाएर छानविन गर्दा विधि विधान र नियमावली अनुसार २ हजार ६ सय ४३ प्रतिनिधि मात्रै बैध  ठहरिए । यही प्रतिनिधिको संख्या राखेर जान सके सबैको सहमति हुन्छ । उता, कुमार पन्तले उच्चस्तरीय समितिले काम गरिरहेका बेला एकपक्षीय रुपमा निर्वाचन समितिलाई लिस्ट बुझाउनुभयो । यसले समस्या बल्झिएको हो । त्यसकारण म भन्छु संस्था फुटाउने हामी होइन । उहाँहरु नै विधानभन्दा बाहिर गएर संस्था फुटाउने खेलमा लाग्नुभएको छ । अझै सहमतिको ढोका खुल्ला छ । हाम्रो ‘इस्यु’ भनेको प्रतिनिधिको विषय मात्रै हो । विधि र विधान अनुसार हुने संख्यालाई मात्रै मान्यता दिएर अघि बढ्न सकिन्छ । यो कुरामा उहाँहरु आउनुभयो भने जहिले पनि सहमति हुन सक्छ ।

गैर आवासीय नेपाली संघका संसारभर रहेका अभियन्ता तथा प्रतिनिधिहरुलाई तपाईंको सन्देश के छ ?

हामी संस्था विधि र विधानबाट चल्नुपर्छ भन्ने कुरा राख्छौं  । विधानभन्दा माथि कोही छैन । देशमा संविधान भएजस्तै । संविधानभन्दा माथि नेता हुँदैन नि त्यस्तै एनआरएनएको विधानभन्दा माथि कोही हुँदैन । तपाईंहरु नेपाल आउनुस् । भौतिकरुपमै बसेर समस्या समाधान गरौं । पहिलेदेखि नै एनआरएनएको परम्परा नै भौतिक उपस्थिति हो । ‘फेस टू फेस’ वैठकमा आउँदा धेरै कुरा हुन्छन् । विश्वभर रहेका ४५–५० वटा एनसीसीले यो महाधिवेशनलाई समर्थन गरेका छन् । संस्थामा दुर्घटना हुँदा जोगाउने जिम्मा संरक्षकको हो । शेष घलेले  आफै यस्तो गर्छु भनेर आउनुभएको होइन । उहाँलाई सबैले आग्रह गरेपछि संरक्षण गर्न आउनुभएको हो । संस्था जोगाउन लाग्नुभएको छ, सबैले साथ दिनपर्छ ।

एनसीसी भनेका आईसीसीको खम्बा हुन् । एनसीसी बिना आईसीसीको केही चल्दैन । आईसीसीलाई त्यहाँबाट चुनेर पठाइएको हो । त्यसकारण धेरै प्रतिनिधिहरु उत्साहित भएर नेपाल आउँदै हुनुहुन्छ । हाम्रो विश्व सम्मेलन २२–२५ मार्चमा बोलाइएको छ । भव्य र सभ्यरुपमा सम्पन्न हुन्छ । फेरि आग्रह गर्न चाहन्छु । तपाईंहरु जो जहाँ हुनुहुन्छ नेपाल आउनुस् सबै मिलेर संस्थालाई बचाऔं । अर्को पक्षले अहिले पनि झुठो भ्रम फैलाउन लागिपरेको छ । भ्रमको पछि नलागौं । यहाँ आएर हेर्नुस सही, गलत तपाईंहरुले पनि छुट्याउनुस् । एक हप्ताको मात्रै समय भएकाले हाम्रो सम्मेलनमा ५–७ सय प्रतिनिधिहरु नेपाल आउनुहुन्छ भन्नेमा हामी ढुक्क छौं ।

प्रतिक्रिया