काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) को मार्च २२ देखि २५ सम्म काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले बताएका छन् ।
गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प्रतिनिधि सम्बन्धी विवाद भएकाले पटक, पटक पर सरेको थियो। प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको तयारी समितिमा आइसीसीका पदाधिकारी, सदस्य, एनसीसीका सबै अध्यक्षहरु सदस्यमा छन् । महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको आयोजकले जनाएका छन् । उपाध्यक्ष लामाले महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने बताए । ‘संस्था भयो भने हामी सबै हुने हो । हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं ।
विश्वभर रहेका ४५ भन्दा बढी एनसीसी अध्यक्षहरुले प्रमुख संरक्षक शेष घलेलाई संस्था जोगाउन आग्रह गरेपछि यो कदम चालिएको हो,’ उनले भने । वर्तमान कामचलाउ भैसकेको नेतृत्व नै संस्था फुटाउने तर्फ लागेको उपाध्यक्ष लामाले बताए । ‘उहाँहरु नै विधानभन्दा बाहिर गएर संस्था फुटाउने खेलमा लाग्नुभएको छ । अझै सहमतिको ढोका खुल्ला छ ।
हाम्रो ‘इस्यु’ भनेको प्रतिनिधिको विषय मात्रै हो । विधि र विधान अनुसार हुने संख्यालाई मात्रै मान्यता दिएर अघि बढ्न सकिन्छ। अर्को पक्षले अहिले पनि झुठो भ्रम फैलाउन लागिपरेको छ । भ्रमको पछि नलागौं,’ उनले भने। त्यसैगरी एनआरएनएका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले आफूहरुले ठूलो कोशिस गर्दा पनि कुमार पन्त समुहले एकतर्फी निर्वाचनको प्रक्रिया अघि बढाएको जानकारी गराए ।
‘हामीले ठूलो कोशिस गर्योैं । तर, दूर्भाग्यवश उहाँहरुले निर्वाचन प्रक्रियालाई एकतर्फी अगाडि बढाएर सहमतिको ढोका बन्द गरेजस्तो देखिन्छ’, सल्लाहकार पण्डितले भने, ‘हामी सहमति विपरित कहिल्यै पनि रहेनौं । कुनै पार्टी, धर्म, समुह जातभन्दा माथि उठेर हामीले काम गर्ने हो । आम एनआरएनका एजेण्डलाई प्राथमिकता दिएका छौं ।’
संस्थालाई सिण्डिकेटको रुपमा चलाउने माफिया प्रवृत्ति अगाडि बढेकाले यो महाधिवेशन आयोजना गर्नुपरेको उनले स्पष्ट पारे । ‘त्यसैले एनआरएनएका प्रमुख संरक्षकको नेतृत्वमा महाधिवेशन गर्दैछौं । जसले राजनीति गरिराखेको छ, त्यसैले नै राजनीति गर्न हुन्न भनिरहेका छन्’, उनले भने, ‘एउटा पार्टीमा आस्था सबैको हुन्छ । तर, आम रुपमा गैर आवासीय नेपालीको हितमा जन्मेको संस्थालाई राजनीतिमुक्त बनाइनुपर्छ ।’ राजनीतिभन्दा धेरै माथि उठेर यस अघि नेतृत्वको जिम्मेवारी दिइसकेको उनले उदाहरण सुनाए ।
‘निषेधको राजनीति अहिले पनि हावी भएको देखिएको छ,’ सल्लाहकार पण्डितले भने । दशौं महाधिवेशनका लागि संसारभरिका नेपाली काठमाडौं आउने क्रम जारी रहेको आयोजकले बताएका छन् । महाधिवेशन सफल पार्न सबै संयन्त्र लागिपरेको र सबैलाई काठमाडौं आउन लामाले आह्वान गरे । ‘सन् २००३ मा स्थापना भएको एनआरएनए अगाडि बढ्ने हो । यसमा भ्रमित नहुन सबैमा अनुरोध छ,’ उनले भने।