न्यूयोर्क, अमेरिका। नेपाली कांग्रेसको भ्रातृ संगठन, नेपाली जनसम्पर्क समिति, का सभापतिहरुको एक बैठकले कुमार पन्तले नेतृत्व गरेको एनआरएनएको वर्तमान समितिले संस्थालाई विभाजनतर्फ उन्मुख गराएको ठहर गरेको छ।
गत शनिवार भर्चुअल माध्यमबाट सम्पन्न बैठकले प्रतिनिधि विवादका कारण सिर्जना भएको एनआरएनएको आन्तरिक विषयमा सम्भावित विभाजन रोक्न र लोकतान्त्रिक विचार पक्षधर सबैलाई एक ठाउँमा उभिन अनुरोध पनि गरेको छ।
छलफलमा विभिन्न २० मुलुकका सभापतिहरुको सहभागिता रहेका थियो।
छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ,’गैर आवासीय नेपाली संघको १० औं महाधिबेसनको केन्द्रीय प्रतिनिधि छनोट बिबादले निम्त्याएको असहज परिस्थितिलाई बेवास्ता गर्दै एनआरएनएको वर्तमान नेतृत्वले एकतर्फी निर्वाचनको घोषणा गर्दै संस्थालाई बिभाजनतर्फ उन्मुख गराएकोप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसखाले गतिविधिप्रति तीव्र बिमति जनाउदै सबै पक्षलाई मिलाएर निर्वाचन गर्न र संस्थालाई विभाजनबाट रोक्न सम्बन्धित सबै पक्षलाई जोडदार अनुरोध गर्दछौं। ”
बैठकमा २० देशका जनसम्पर्क समितिका सभापतिहरु सहभागी थिए। बैठकमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट, ओमानका सभापति शालिकराम चापागाई, क्यानडाका सभापति बुद्धिप्रकाश ओली,साउदी अरबका सभापति अर्जुन थापा,युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना,कतारका सभापति अजीज अली सहभागी थिए। यसैगरी कुवेतका सभापति राजेन्द्र रसाइली बिरही,इजरायलकी सभापति दिपीका भुषाल,,बेल्जियमका सभापति पूर्ण तिमिल्सिना,फ्रान्सका कार्यवाहक सभापति ईन्द्र बस्नेत,अष्ट्रियाका सभापति जीवनजंग कुँवर,कोरियाका सभापति भजेन्द्र क्षेत्री,जर्मनीका सभापति शिखर खड्का,जापानका सभापति रोशन केसी,माल्टाका सभापति संदेश केसी,नेदरल्याण्डका सभापति शालिक गौतम,अष्ट्रेलियाका उप सभापति दिलीप पोखरेल, नर्वेका सभापति जितेन्द्र शाही र साइप्रसकी सभापति सीता अर्याल लगायत सहभागी थिए।
जनसम्पर्क समितिहरु एकजुट
गैर राजनीतिक छबि बनाएको गैर आवासीय नेपाली संघलाई जबर्जस्ती एमालेकरण गर्न खोजिएपछि विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरु एकजुट भएका छन् । जनसम्पर्क समिति नेपाली कांग्रेसको प्रवासस्थित संगठन हो ।
संस्थालाई राजनीतिक प्रभाव नपार्न प्रयत्न गरिए पनि एमालेकरण गर्न खोजिएपछि प्रतिवादमा उत्रिनु परेको उनीहरुको ठहर छ । राजनीतिक आस्थाका आधारमा विधानविपरीत काम भएको र त्यसलाई रोक्न र संस्थाको मर्यादा र गरिमा बचाउन सबै एकजुट हुनुपर्ने जनसम्पर्क समितिको निष्कर्ष छ । विश्वका २२ जनसम्पर्क समितिका सभापतिहरुले भनेका छन्, प्रमुख संरक्षक घलेले विधान बमोजिम बोलाएको महाधिवेशन सफल पारौं, संघलाई विवादमुक्त बनाऔं ।