२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

कामचलाउ आइसीसीले संरक्षक परिषद विघटन गर्न सक्दैन : देवमान हिराचन

1034 Shares
Spread the love

काठमाडौँ (जीएनएन)- गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले कामचलाउ अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले संरक्षक परिषद विघटन गर्न नसक्ने बताएका छन् ।

जीएनएनसंग कुरा गर्दै संरक्षक हिराचनले आइसीसी बैठकले संरक्षक परिषद तथा उच्च स्तरीय समिति भंग गरि दिएको भन्ने निर्णय दुर्भाग्य पूर्ण भएको बताए। ‘संघको विधान अनुसार संरक्षक परिषदलाई एक अभिभावकको रुपमा संस्थाको संरक्षण गर्ने जिम्मा दिइएको छ ।

नयाँ कार्य समितिले प्रमुख संरक्षक र संरक्षकहरु मनोनयन गर्न सक्छ तर संरक्षक परिषद नै विघटन गर्न सक्दैन,’ हिराचनले भने । यसै गरी उनले झन्डै डेढ महिना लगाएर उच्चस्तरीय समितिले विवाद समाधान गर्न काम गरेको तर विधान विपरित बोलाइएको, कोरम नपुगेको बैठकले उच्चस्तरीय समिति समेत भंग गरिदिएको भन्ने सुन्दा दुख लागेको बताए।

उनले संस्थालाई एकजुट गरेर लग्न यस्ता गलत निर्णयहरु सच्याउन सुझाव पनि दिए। यसै बीच गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का ५० जना भन्दा बढी पदाधिकारी तथा सदस्यहरुले विधान विपरित बैठक बोलाएर गरिएका निर्णयहरु मान्य नहुने जनाएका छन्।

संघको विधान र नियमावली अनुसार संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) मा एजेन्डाबारे छलफल भए पछि र पदाधिकारीहरु (ओबी) को बैठकले पास गरे पछि मात्रै १ हप्ता अगाडी एजेन्डा आइसीसीलाई पठाउनु पर्ने हुन्छ। तर उक्त कुनै पनि प्रक्रिया पुरा नगरी एकपक्षीय एजेन्डाहरु राखेर बैठक बोलाइएको उनीहरुले जनाए ।

गत २ मार्च २०२२ मा बसेको बैठकले संघको विधान २००३ (२०२१ संशोधन सहित) विपरित संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई खारेज गर्ने, ७० प्रतिशत भन्दा बढी पन्जीकृत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषदहरुको मान्यता समाप्त हुने लगायतका निर्णयहरु गरेको बताइएको छ। “त्यस्ता निर्णयको कुनै कानूनी औचित्य छैन, त्यसैले ती बदरभागी छन्,” आइसीसी सदस्य चिन्तामणि सापकोटाले भने।

प्रतिक्रिया