जापान — गैर आवासीय नेपाली संघ (एनआरएनए ) राष्ट्रिय समन्वय परिषद जापानमा देखिएको विवाद समाधान गर्नका लागि एनआरएनए उच्चस्तरीय समितिका सदस्य भवन भट्टको संयोजकत्वमा छ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ ।
शनिबार जापानको सिज़ुओकामा सम्पन्न एनआरएनए आइसीसीका सदस्य, पूर्व अध्यक्ष, राजनीतिक संगठनका प्रतिनिधिहरु, एनआरएनए जापानको अध्यक्ष मण्डलका सदस्य तथा जापानको नेपाली समुदायमा सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मिलित भेलाले एनआरएनए जापानमा पछिल्लो समय देखा परेको समस्या समाधानका लागि भट्टको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा एनआरएनए उच्चस्तरीय समितिका सदस्य तथा संघका पूर्व अध्यक्ष देवमान हिराचन, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङग, एनआरएनए विधान संशोधन मस्यौदा समितिका सदस्य भूषण घिमिरे, एनआरएनए जापानका पूर्व अध्यक्ष रोशन केसी र सुदन थापा रहेका छन् ।
जापानमा भएका एनआरएनए अभियन्ता तथा अग्रजहरूको संयुक्त भेलाले एनआरएनए जापानमा पछिल्ला दिनमा भए गरेका गतिविधिप्रति चिंन्ता र चासो व्यक्त गर्दै यस परिस्थितिबाट सबै पक्षलाई मान्य हुने गरि यथाशक्य छिटो निकास दिनुपर्नेमा सबैको एकमत राय प्रकट भै सोहि कार्य गर्ने ज़िम्मेवारी सो समितिलाई प्रदान गरिएको एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदका उम्मेदवार ओम गुरूङले जानकारी दिए ।
गत जुलाई ३०, २०२१ मा सम्पन्न एनआरएनए जापानको निर्वाचनका सन्दर्भलाई लिएर भैरहेको विवाद समाधान गर्ने मुख्य ज़िम्मेवारी सो समितिको रहेको छ ।एम आइ यस प्रणाली लाई दुरुपयोग गरी धाधलीपूर्ण रुपमा गरिएको उक्त निर्वाचन रद्द गर्न भेला सहमत भएको थियो। उक्त भेलाले समस्या समाधानको लागि सरोकारवाला पक्षसँग समन्वय, छलफल तथा अन्तरक्रिया लगायतका विधि अवलम्बन गरि पहिलो चरणमा नयाँ कार्य समिती चयन गर्न सहमति गराउने प्रयास गरि निकास निकाल्ने र सो कार्य सफल हुन नसकेमा पुनः निर्वाचन गराउने म्यान्डेट प्रदान गरेको छ ।
गत जुलाई ३० तारिख सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसंगै शिवप्रसाद पौडेल नेतृत्वको समूहले निर्वाचनको परिणामलाई स्वीकारेर जानुपर्ने भन्दै आफ़ना नियमित कार्य गर्दै आएको थियो भने अनिता गुरुङ समुहले मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको र स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित निर्वाचन भएको भन्दै समानान्तर गतिविधि संचालन गर्दै आएको थियो।