काठमाडौं (जीएनएन) — उच्चस्तरीय समितिले दिएको जिम्मेवारी अनुसार बुझाएको प्रतिवेदनलाई बंग्याएर केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको भन्दै गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले आपत्ति जनाएका छन् ।
लामाले आइतबार एक विज्ञप्ति प्रकाशित गरी एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप छानबिन गरी आफूले काम गरेको स्पष्ट पारेका छन् । संस्थाको विधान र नियमावली विपरित तोकिएको मितिभन्दा पछि बनाइएका सदस्यबारे छानबिन गरी प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाइसकेको उनले बताए।
आगामी दशौँ महाधिवेशनमा आफुले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरिसकेको उनले स्पष्ट पारेका छन् । ‘मैले संस्थालाई जहिले पनि विधिसम्मत र पारदर्शी हिसाबले संचालन गर्नु पर्नेमा जोड दिदै आएको छु । अनियमतिता भएको छ वा विधानको पालना भएको छैन भन्ने लागेको बेला मैले ‘नोट अफ डिसेन्ट’ लेख्ने गरेको साथीहरुलाई थाहा नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो तथ्यलाई पनि थाहा नपाएझैं गरी निहित राजनीतिक उद्देश्य पुरा गर्नका लागि मेरो नाम जोडेर अनर्गल प्रचार गर्ने काम प्रति मेरो गम्भीर आपत्ति छ।’
आफूमाथि संस्था फुटाउन खोजेको भन्ने झुट्ठा आरोप लगाइएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । ‘म माथि संस्था फुटाउन खोजेको भन्ने आरोप सरासर गलत छ । मैले एनआरएनएमा आबद्ध भएदेखि नै सधैंभरि निश्पक्ष र इमान्दारीका साथ संस्थाको हितमा काम गर्दै आएकोबारे संसारभरिका साथीहरु जानकार हुनुहुन्छ’ लामाले वक्तव्यमा भनेका छन् । “मैले कुनै पनि एनसीसीमा एक जना डेलिगेट्स पनि थप्न वा हटाउन भनेको छैन। जुन रिपोर्ट आएको छ संघको विधान र नियमावलीमा आधारित रहेर आएको छ ।‘
हेर्नोस् उपाध्यक्ष लामाले जारि गरेको वक्तव्य जस्ताको तस्तै:
प्रेस वक्तव्य
एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप छानबिन गरी मैले समितिलाई बुझाएको प्रतिवेदनबारे केहि मिडियामा प्रकाशित भ्रमपूर्ण समाचारबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
मैले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाइ सकेको छु। संघको सचिवालय र आइटी विभागले ‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने छानबिन गरी तयार गरेको रिपोर्ट मैले जस्ताको तस्तै उच्चस्तरीय समितिलाई पठाएको हु। यसमा मेरो कुनै स्वार्थ छैन। मैले कुनै पनि एनसीसीमा एक जना डेलिगेट्स पनि थप्न वा हटाउन भनेको छैन। जुन रिपोर्ट आएको छ संघको विधान र नियमावलीमा आधारित रहेर आएको छ।
म माथि संस्था फुटाउन खोजेको भन्ने आरोप सरासर गलत छ। मैले एनआरएनएमा आवद्ध भए देखि नै सधैंभरि निस्पक्ष र इमान्दारीका साथ संस्थाको हितमा काम गर्दै आएकोबारे संसार भरिका साथीहरु जानकार हुनुहुन्छ। चाहे संस्थाका पूर्व अध्यक्ष हुन् वा साधारण सदस्य, सबैले संस्थाको विधान र नियमावली इमान्दारीपूर्वक पालना गर्नु पर्छ भन्ने मेरो दृढ मान्यता रहंदै आएको छ। त्यस्तै डेलिगेट्स सम्बन्धी विवादको विधिसम्मत ढंगले समाधान गरी जति सक्दो छिटो चुनावमा जानु पर्छ भन्ने मेरो स्पष्ट मान्यता छ।
मैले आगामी दशौँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरि सकेको छु। मैले संस्थालाई जहिले पनि विधिसम्मत र पारदर्शी हिसाबले संचालन गर्नु पर्नेमा जोड दिदै आएको छु। अनियमतिता भएको छ वा विधानको पालना भएको छैन भन्ने लागेको बेला मैले ‘नोट अफ डिसेन्ट’ लेख्ने गरेको साथीहरुलाई थाहा नै छ। यस्तो वस्तु तथ्यलाई पनि थाहा न पाएझैं गरी निहित राजनीतिक उद्देश्य पुरा गर्नका लागि मेरो नाम जोडेर अनर्गल प्रचार गर्ने काम प्रति मेरो गम्भीर आपत्ति छ। सत्य तथ्य न बुझेर झूठको खेति तथा प्रोपेगेंडा गर्ने काम तुरुन्त बन्द गर्न पनि म अपिल गर्दछु।
सोनाम लामा
उपाध्यक्ष, एनआरएनए आइसीसी
मिति: २० फेब्रुअरी २०२२