२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

उपाध्यक्ष लामाले बुझाए उच्चस्तरीय समिति समक्ष आफ्नो प्रतिवेदन

1498 Shares
Spread the love

काठमाडौँ (जीएनएन) – गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएका छन्।

यस अघि अध्यक्ष कुमार पन्तले ३,६०० बढी डेलिगेट्सको सूची एकपक्षीय रुपमा निर्वाचन समितिलाई बुझाएका थिए।

तर उपाध्यक्ष लामाले छानबिन गर्दा झन्डै ९०० प्रतिनिधिहरु विधान र नियमावली विपरित बनाइएको भन्दै उनीहरुको नाम मतदाता सूची बाट हटाउन सिफारिस गरेको सूत्रले जनायो ।

बिहीबार बेलुका एक विज्ञप्ति प्रकाशित गरी लामाले प्रतिवेदन तयार गर्न सघाउने सबैलाई धन्यवाद दिएका छन्।

२०१९-२१ कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित लामाले कोभिडको बेलामा पनि काठमाडौँस्थित केन्द्रीय कार्यालयमा बसेर समनवय गरेका थिए। नागरिकता निरन्तरता कार्यदलका संयोजक पनि रहेका लामाले लाप्राकस्थित नमुना वस्ती निर्माण तथा केन्द्रिय कार्यालय भवन निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दशौँ महाधिवेशनमा उम्मेदवारी नदिने घोषणा गरेका लामाले संस्थाभित्र भएका अनियमितताहरुको खुलेर विरोध गर्दै आएका छन्। उनले संघमा अहिले देखिएको विवादलाई विधिसम्मत ढंगले समाधान गरी जति सक्दो चांडो दशौँ महाधिवेशन तथा चुनाव गराउन उच्चस्तरीय समितिलाई सहयोग गर्न पनि सबैलाई अपिल गरेका छन् ।

 

हेर्नोस् लामाको वक्तव्य जस्ताको तस्तै:

साथीहरू नमस्कार ।

एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप मैले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको छु। ‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने बारे हामीले छानबिन ग-यौं। छानबिनबाट अहिले दावी गरिए भन्दा फरक सदस्य संख्या मात्र valid रहेको पाईएको छ। छानबिन कार्यमा मलाई संस्थाका कार्यकारी निर्देशक राजेश राणा तथा आइटी टिमले राम्रो सहयोग गर्नु भयो। मैले सन् २००९ देखि इमान्दारी पूर्वक निरन्तर यो संस्थामा काम गरेको र वर्तमान उपाध्यक्षको रुपमा यो संस्थालाई बचाउन, संस्थाको हितमा काम गरिरहेको तपाईं सबैलाई थाहै छ। Good faith मा, संस्थाको विधान र नियमावलीलाई आधार बनाउंदा हामीले पाएको यथार्थ जस्ताको तस्तै उच्चस्तरीय समितिलाई बुझाएको छु, त्यो यथासमयमा सार्वजनिक हुने नै छ। प्रतिवेदन तयार गर्न सहयोग गर्ने संघको सचिवालयलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। संघमा अहिले देखिएको विवादलाई विधिसम्मत ढंगले समाधान गरी जति सक्दो चांडो दशौँ महाधिवेशन तथा चुनाव गराउन उच्चस्तरीय समितिलाई सहयोग गर्न पनि सबै साथीहरुलाई अपिल गर्दछु।

 

सोनाम लामा

उपाध्यक्ष, एनआरएनए आइसीसी

१७ फेब्रुअरी २०२२

प्रतिक्रिया