२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

एनआरएनए जापानको निर्वाचन रद्द, पुन:निर्वाचन गराउन निर्देशन (विज्ञप्ति सहित)

12984 Shares
Spread the love

काठमाडौं, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको जुलाई ३०, २०२१ मा भएको निर्वाचन बदर गरेर निष्पक्ष निर्वाचन गराउनको लागि एनआरएनए एनसीसी जापानका सँस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ।

एनआरएनए जापानको निर्वाचनमा भएको धाँधलीबारे जाँचबुझ गरी समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिले गत वर्ष जुलाई ३० को निर्वाचनबाट आएको कार्य समितिलाई रद्द गरिदिएको छ।

समितिले निर्वाचनमा धाँधली भएको पुष्टि गर्दै त्यसरी आएको कार्य समितिलाई रद्द गरेको हो। त्यसैगरी समितिले अनिता गुरुङ समूहको कार्य समितिलाई पनि विघटन गर्दै एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको छ।

शेष घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिले जापान विवाद मिलाउन र समस्या सुल्झाउन समितिका सदस्य एवं पूर्व अध्यक्षहरु देवमान हिराचन तथा भवन भट्टलाई अधिकार प्रत्यायोजन गरेको थियो। उक्त समितिले दुवै पक्षसंग सम्पर्क गर्दा मिलेर जान सक्ने स्थिति नआएको हुनाले पुनः निर्वाचन गर्न एनआरएन जापानका संस्थापक अध्यक्ष प्रधानांगलाई जिम्मा दिने निर्णय गरेको हो ।

उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनद्वारा मंगलबार जारी वक्तव्यमा २०२१-२०२३ को कार्य समितिको निर्वाचन गर्न र उक्त कार्य समिति गठन नहुन्जेल सम्म एनआरएनए जापानको सम्पूर्ण कार्य सम्पन्न गर्न को लागि सम्पूर्ण अधिकार प्राप्त हुने गरी जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको र उक्त समितिले यथासक्य चांडै समय सिमा तोकी एनआरएनए जापानको कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ।

समितिले अध्ययन र अनुसन्धानपछि मंगलबार (१५ फेब्रुअरी) बाट लागू हुनेगरी गुरुङ र शिव पौडेलको समूहलाई विघटन गर्दै नयाँ प्रक्रियामा जान निर्देशन दिएकाे हो। एनआरएनए जापानको तर्फबाट तदर्थ समितिका अध्यक्षले एनआरएनए आइसीसीमा विधान बमोजिम डेलिगेट्स नामावली पठाउने पनि वक्तव्यमा उल्लेख छ।

जापान निर्वाचनमा भएको धाँधली र इमेल ह्याक प्रकरणको मुद्दा अहिले प्रहरीमा पुगेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उक्त मुद्दाको अनुसन्धान जारी राखेको छ।

कसरी गरियो जापानको चुनावमा धाँधली?

गैरआवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो।समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्य नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ।

सिस्टम लगअनुसार १ हजार ७१३ सदस्यहरुको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ। कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २ हजार ९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४ हजार ८५३ मत खसेको पाइएको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटादेखि ४९६ सम्म मत राखिएको छ। निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरीत ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलाई प्रभावित पारेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २ हजार ९७० मतदाताको सदस्यता बनाइएको, त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानाङ्गले बताए।

प्रतिक्रिया