काठमाडौँ – गैरआवासीय नेपाली संघमा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेम राज शर्मा आफै लागेका छन्।
गत शनिबार (१५ जनवरी) मा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि) को ८१ औं बैठकका निर्णय भन्दा फरक बुंदाहरुलाई बैठकको माइन्यूट ड्राफ्ट भन्दै शर्माले इमेल पठाए पछि संघकै वरिष्ठ पदाधिकारीहरुले आपत्ति जनाएका छन् ।
बैठकले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि र विवद समाधान गरेर महाधिवेशन र निर्वाचन समेत गर्ने जिम्मेवारी बिस्तारित संरक्षक परिषदलाइ दिएको छ। आर्थिक र सांगठनिक गरी २ प्रतिवेदन महाधिवेशनमा पठाउनको लागि पारित गरेको थियो । तर बैठकमा एनसीसी जापानबारे कुनै निर्णय नै भएको थिएन । तर निर्णय नै नभएको कुरालाइ कामचलाउ महासचिव शर्माले निर्णय नं ५.४ मा थपेर पठाएका छन्।
प्रवक्ता डिबी क्षेत्रीको नामबाट आएको इमेलमा उक्त विषय उल्लेख छैन ।
बैठकले विस्तारित संरक्षक परिषदलाइ दिएको Terms of Reference (TOR) लाइ पनि उनले आफुखुसि व्याख्या गर्ने प्रयास गरिरहेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टुवर २०२१ मा हुनुपर्ने १० औं महाधिवेशन तथा निर्वाचन प्रतिनिधि (डेलिगेट्स) चयन सम्बन्धी विवादका कारण पटक पटक मिति तोक्दा पनि हुन नसके पछि आइसीसीको ८१ औं बैठकले सो सम्पन्न गर्ने जिम्मा संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा गठित विस्तारित संरक्षक परिषदलाइ दिने निर्णय गरेको छ।
“जापानको विवादको बारेमा आइसीसीमा केहि साथीहरुले विषय उठाउनु भएको हो, तर कुनै निर्णय भएको अवस्था होइन। निर्णयनै नभएको विषयलाई निर्णय भयो भनेर मस्यौदामा लेख्नु सरासर गलत र बदनियतपूर्ण छ,” बैठकका एकजना सहभागी तथा २०१९-२१ का आइसीसी सदस्य गुणराज पौडेल (गुराँस) ले भने। उनले दशौँ महाधिवेशन र चुनाव सम्पन्न गर्न जिम्मेवारीपूर्ण व्यवहार गर्न सबैलाई आग्रह पनि गरे।