काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले सबै पक्षलाई विश्वासमा लिएर गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री खड्काले विवाद यथावत राखेर गरिने निर्वाचनलाई सरकारले कुनै हातलमा मान्यता नदिने बताएको भेटमा सहभागि मध्येका एक सदस्ले बताए ।
भेटमा सहभागिका अनुसार मन्त्री खड्काले आफु निर्वाचनको पक्षमा रहेको तर त्यस अगाडि परराष्ट्रको निर्देशनलाई सम्बोधन गर्न सुझाव दिएका थिए । परराष्ट्रले मुख्यतय विद्यार्थीलाई पनि सदस्य बनाएको, प्रतिनिधि छनौट एक तर्फि भएको बारेमा चासो राख्दै आएको छ ।
मन्त्री खड्काले एनआरएनएका सरोकारवाला बीचमा सहमति भए मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएको भेटमा सहभागि एक सदस्यले बताए ।
जवाफमा पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको भन्दै आफ्नो बचाउ गरेका थिए । उनले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरेको जनाइएको छ ।
प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो ।
यस अगाडि अध्यक्ष पन्तले नेपाल सरकारलाई नै चुनौति दिदै अदालतमा मुद्दा दायर गरेका थिए ।