२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

मैले चुनाव गर्न सक्ने देख्दिनं, गरे पनि भविष्यमा दाग बसिरहने देखिन्छ: रामप्रताप थापा

804 Shares
Spread the love

काठमाडौँ : गैर आवासीय नेपाली संघका संरक्षक तथा निर्वाचन समितिका सदस्य रामप्रताप थापाले डेलिगेट्स विवाद समाधान नगरेसम्म निर्वाचन समितिले चुनाव गराउन नसक्ने स्वीकार गरेका छन्।

अध्यक्ष कुमार पन्त नेतृत्वको केन्द्रीय सचिवालयले उपलब्ध गराएको प्रारम्भिक मतदाता नामावलीमा व्यापक धांधली गरिएको भन्दै संसार भरिबाट उजुरी परेपछि प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले राजिनामा दिएका थिए। त्यसपछि  अध्यक्ष पन्तले संरक्षक थापालाई निर्वाचन समितिको कार्यवाहक संयोजक तोकेका थिए।

शनिबार ‘नेपाल प्लस टक’ मा कुरा गर्दै प्रमुख संरक्षक पनि भै सकेका  थापाले सन् २००९ मा पहिलो पटक चुनाव भए पछि संघको निर्वाचनमा विकृति पसेको खुलासा गरे।

तर उनले  एनआरएन भित्रको जुनसुकै विवाद पनि समाधान गर्न सकिने  बताए । दशैं  अघि नै महाधिवेशन गर्ने भनिए पनि डेलिगेट्स विवाद समस्याका कारण हुन नसकेको उनले बताए । ’प्रतिनिधि चयन अगस्ट भित्रमै गर्ने भन्ने कुरा थियो । प्रतिनिधिकै कुराले जटिल हुँदै गैरहेको छ । डेलिगेट्स लिस्टमै विवाद भैरहेको छ,’ संस्थापक मध्येका एक थापाले भने, ‘एनआरएन भित्रका साथीहरु पारदर्शी हुनुपर्छ र छर्लङ्ग हुनुपर्छ । डेलिगेट्स विवादका कारण महाधिवेशन अन्यौल भएको  हो ।’

डेलिगेट्सको विवाद समाधान गर्ने काम सचिवालय र एनआरएनको भएको उनले  बताए । ‘यो विवाद समाधान गर्ने काम कार्य समितिको हो, हामीले सकेनौं,” थापाले भने।

केही सानोतिनो कुराले गर्दा एनआरएनमा लम्बिएको विवाद समाधान गरेर सहमतितिर जान उनले सुझाव दिए । ‘प्रतिनिधि छनौटको विषय पनि सेकेण्डरी कुरा हुन् । समाधान गर्न सकिन्छ । शेष घले, जीवा लामिछाने लगायतले जिम्मा लिएर समस्याको समाधान गर्नुपर्छ,’ थापाले भने, ‘चुनाव गरेमा भविष्यमा विधान परिवर्तन गरेर कहिल्यै पनि विवाद नआउने किसिमले जानुपर्छ ।’

‘प्रतिशतको जटिलताले गर्दा विवाद’

प्रतिनिधि छनौटको ६५ प्रतिशत, २५ प्रतिशत, १० प्रतिशतको जटिलताले गर्दा नै अहिलेको  विवाद आएको संरक्षक थापाले बताए ।

‘६५ प्रतिशत डेलिगेट्स पुरानो कार्य समिति लाई छान्न दिए पछि नयाँ  आएको कार्य समितिले त्यो जस्ताको तस्तै स्वीकार्दैन, विवाद हुन्छ भन्ने कुरामा ध्यान पुगेन,’ थापाले भने।

केहि एनसीसीहरुको सदस्यता शुल्क नआएको र त्यो नआउँदा सम्म भोटर्स लिस्ट प्रकाशित गर्न नमिल्ने थापाले बताए।

परराष्ट्र मन्त्रालयको मर्म पनि संरक्षक परिषद्ले एनआरएनको समस्या बुझेर काम गरोस भनेर  जिम्मा दिएको उनले बताए ।

अहिले निर्वाचनको कार्यतालिकाको काम गरे पनि चुनावबाट एनआरएनको भविष्यमा कुनै राम्रो नहुने उनले बताए । ‘एनआरएनएमा मत भिन्नता छ । अहिलेको निकास भनेको अग्रजहरुले मिलेर सहमति निकालेर चुनाव विना नै गर्नुपर्छ । अहिले चुनाव गर्न सक्ने देख्दिनँ । भयो भने पनि भविष्यमा दाग बस्ने देखिन्छ,’ उनले भने ।

आफूले तीनैजना अध्यक्षका प्रत्यासी उम्मेदवार कुल आचार्य, बद्री केसी र रबिना थापासँग कुरा गरेको र थप छलफलका लागि तयार रहेको उनले बताए । ‘एउटै कोठामा बसेर समाधानका लागि पहल गरौं । कस्मेटिक चुनाव, नियम पुराउन चुनाव गराएर हुँदैन । अब भविष्यमा नमिलेसम्म टकराव गर्ने खालको चुनाव हुने देखिँदैन । एनआरएनको कुरा एनआरएनले नै बुझ्छ,’ थापाले भने ।

प्रतिक्रिया