अल्डरसट : गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिले संघको विधान अनुसार कार्यसमितिमा एक प्रवक्ता सहित ५ जना कार्यसमिति सदस्यहरु मनोनित गरेको छ ।
कार्यसमितिले गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बुलाई प्रवक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो ।
यसैगरी यही नोभेम्बर २० मा बसेको कार्य समितिको पुर्ण बैठकले थप तीन जनालाई कार्यसमितिको सदस्यमा मनोनित गरे पछि कार्यसमितिले पूर्णता पाएको छ ।
कार्यसमितिको बैठकले तमुधिं युकेका अध्यक्ष तथा वरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षमता ढकाल र ग्याञ्जु शेर्पालाई उहांहरुले नेपाली समाजमा पुर्याउनु भएको योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मूल्याङ्कन गर्दै मनोनित गरेको हो । प्रवक्तामा मनोनित भरतमणी चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यवसायी तथा पूर्व गोर्खा हुन् ।
त्यसैगरी अर्का सदस्य आवेश राई सूचना प्रविधि विज्ञ तथा चार्टर्ड एकाउन्टेन्ट हुन् ।
गत अगष्टमा नयां कार्यसमिति निर्वाचित भएर आए पछि समितिले कार्यसमितिमा मनोनित गर्ने कार्यका अलावा १८ ओटा विभागहरु तथा टास्कफोर्सहरु गठन गरी कार्यक्षेत्रमा परिचालित भएको बताइएको छ ।