लण्डन । बेलायतमा रहेका नेपालीहरुले आफूहरुको महान पर्व दीपावली अर्थात तिहार अवसरमा रमझमको साथ देउसी भैलो खेलेर मनाएका छन् ।
नेपालकै शहरी क्षेत्रमा खेलिने देउसी भैलोमा विकृति थपिदैं गएको अवस्थामा देशबाहिर रहेर पनि यहाँ रहेका नेपालीहरुले परम्परागत रुपमा देउसी खेलेका हुन् । लण्डनका प्लम्स्टिड, वेलिङ्ग, लगायतका क्षेत्रमा युवा युवतीहरुले देउसी भैलो खेलिएको हो ।
दिपावलीको उज्यालो र रङ्गोलीले सजाइएको नेपाली समुदायका घरले छुट्टै पहिचान स्थानीयबासीलाई दिई रहेको बेला अझ गलामा सयपत्रीको माला, दौरा सुरुवाल, सारी चोलोमा सजिएर देउसुरेको धुन बजाउदै मादलको भाका हाल्दै देउसी खेल्दा बेलायतका स्थानीयहरुले समेत अचम्म मान्दै देउसी इन्जोय गरेका थिए ।
बाटोमा लस्करै देउसी खेल्नेको पंत्ति देख्दा स्थानीय बेलायतबासीहरु पनि रोकिएर हेरि रहेका थिए । बिश्वको जुनसुकै कुनामा पुगेता पनि आफ्नो रितीरिवाज जोगाउन र अर्को पुस्तालाई आफुले जानेको कुरा जति सक्छौं त्यति हस्तान्तरण गर्न उक्त देउसी खेलेको र यसलाई विशुद्ध पर्वकै रूपमा लिइएको विकेश बस्नेतले बताए ।
पर्व र रमाइलोको लागि देउसी खेलिएको र सो बाट उठेको रकम काठमाडौँमा रहेको हिमालयन बृद्ध आश्रम केन्द्रलाई ६० हजार हस्तान्तरण गरिएको रवि उप्रेतीले जानकारी दिए ।
समाजसेवी सुरेन्द्र रुपाखेतीले आफ्नो परम्परा, संस्कृति आफ्नो निधि भएको भन्दै यसलाई परिस्कृत रूपमा भए पनि मनाउनपर्ने जोड दिए ।
गत बर्ष कोरोनाका कारण खेल्न नपाएको देउसी यसपटक भने विशेष उल्लासका साथ मनाइएको हो । भैली नृत्यमा स–साना नानीहरु रमाएको देख्दा यसले छुट्टै खुशी प्रदान गरेको सहभागी मध्य एक सविता बलामीले बताईन ।
देउसी भैलो प्रचलनको किम्बदन्तीको बारेमा समिर भट्टराईले जानकारी गराउँदै शुरु गरिएको सो देउसीमा भट्ट्याउने तर्फ लिलाधर पौडेल , रवि अर्याल , विकेश बस्नेत , रवि उप्रेती , सविता बलामी ,सुदिप तिवारी , शोभा विक ,सुसन घिमिरे , रवि लम्साल , सुरेन्द्र रुपाखेतीले प्रमुख भूमिका निर्वाह गरेका थिए ।
नेपाली मात्रैले खेल्ने विशिष्ट संस्कृतिमा पर्ने देउसी भैलाको संरक्षण गर्नुपर्नेमा सबैले जोड दिएका थिए ।