लन्डन — लन्डनस्थित एकजना कर्मठ एनआरएन अभियन्ता तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएनएको युरोप संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
तिमल्सेनाले गैरआवासीय नेपाली संघको अक्टोवर २३ देखि २५ सम्म हुने १० औं महाधिवेशनमा संघको युरोप संयोजकमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका तिमल्सिनाले युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक आफैमा महत्वपूर्ण जिम्मेवारी भएकाले आफू दिनरात लागिरहेको बताए । ‘मबाट धेरै साथीहरुले आशा गर्नुभएको छ, उहांहरुको त्यो आशा निराशामा परिणत हुन दिने छैन्’, नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित तिमल्सिनाले भने ।
युरोपवासी नेपालीका समस्या सम्वोधन गर्न आफु क्रियाशील रहेको उनले जनाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ०२१ – ०२३ कार्यकालका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका तिमल्सिनाले भने, ‘मेरो ध्यान युरोपका नेपालीको सीप, ज्ञान र लगानी नेपाल लैजान पहल गर्नेमात्र होइन्, संस्थाका समय सान्दर्भिक सवाललाई पूर्णता दिन र युरोप बस्ने नेपालीले कतिपय देशमा भोग्नुपरेका रोजगारी, सांस्कृतिक तथा भाषिक समस्या सम्वोधनका लागि पहल गर्न पनि हुनेछ ।’
धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उनी २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्द्धन सम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ यूके उपाध्यक्ष ( सन् २०१३–१५), गैरआवासीय नेपाली संघ यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत थिए ।