लण्डन । भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरुको बिषयमा आगामी डिसेम्बर महिनामा हुने वार्ताका लागि छलफल गर्न नेपाल-बेलायत तथा गोर्खा प्रतिनिधिहरुबीच बुधबार एक बिशेष बैठक सम्पन्न भएको छ ।
लण्डनस्थित नेपाली राजदूतावासमा बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा उक्त पहिलो बिशेष बैठक सम्पन्न भएको हो ।
बैठकमा भूपू ब्रिटिस गोर्खा संगठनहरू गोरखा संयुक्त सत्याग्रह संघर्ष समिति प्रमुख संयोजक कृष्णबहादुर राई र जुद्धबहादुर गुरुङ, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, नेपाल भूतपूर्व सैनिक संघ (नेसा)सभापति केशबहादुर गुरुङ, गोरखा पेन्सन इनजस्टिस ग्रुप अध्यक्ष उदयबहादुर गुरुङ र युबीजीएन अध्यक्ष राम राई सहभागी थिए ।
त्यसैगरी दुताबासका उपनियोग प्रमुख एबम प्रबक्ता रोशन खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार तथा आमरण अनसन बसेका गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घले पनि उक्त बैठकमा उपस्थित थिए ।
बैठकमा भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि वार्ता समिति गठन, वार्ता समितिको कार्यविवरण एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको दुताबासले बैठकपछि जारी एक विज्ञप्तिमा जनाईएको छ ।
