स्कटल्याण्ड — गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदको पहिलो बैठक सोमबार सम्पन्न भएको छ ।
बैठक संगै संस्थाका अगुवाहरुलाई सम्मानको कार्यक्रम पनि राखिएको थियो ।
बैठकले विधान अनुरुप ३ जना सदस्यहरु मनोनित गरेको नवनिर्वाचित उपाध्यक्ष उज्वल कार्कीले बताए ।
काउडेन बीचस्थित नमस्ते सिमला प्यालेसमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदले सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ । स्कटल्याण्ड राज्य परिषदका नवनिर्वाचित अध्यक्ष काशीराम भन्डारीको अध्यक्षतामा बसेको बैठकले ३ जना सदस्यहरुपनि चुनेको छ । ग्लास्गोबाट मुना खरेल, एडिनबराबाट गोकर्ण भुसाल र एबर्डीनबाट घनश्याम भण्डारीलाई मनोनित गरिएको छ । बैठकले समाजसेवी तथा एनआरएन अभियानका अगुवा भोला खनाललाई प्रमुख संरक्षकमा नियुक्ति गरेको छ । गैर आवासीय नेपाली संघमा लामो समयदेखि आवद्ध खनालले सल्लाहकारको रुपमा समेत निरन्तर योगदान गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै खनालले स्कटल्याण्ड एनआरएनलाई उदाहरणीय बनाउन त्यहाँ रहेका नेपालीहरुका एक दर्जन बढी संघ संस्थाको छाता संस्थाको रुपमा विकसित गरेर सर्वसम्मत नेतृत्व चयन प्रक्रियाका लागि पहल गर्न सबैलाई अनुरोध गरे । संघका नवनिर्वाचित उपाध्यक्ष उज्ज्वल कार्कीले स्कटल्याण्डका नेपाली समुदायका समस्याहरुलाई लिएर दूतावासमा डेलीगेसन गएर ध्यान आकर्षण गर्ने, स्कटल्याण्ड निवासी नेपालीहरुको जनगणना गर्ने र यथार्थ संख्या निकाल्ने कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिव मानिस खत्री र उप सचिव सुमित भण्डारीले गरेका थिए ।