लन्डन — बेलायतस्थित युवा व्यवसायी सुमन शर्मा (सोहन) ले गैर आवासीय नेपाली संघ युकेलाई व्यवसायीमैत्री बनाउनु पर्ने बताएका छन् ।
एनआरएनए युकेको शनिबार हुन गैरहेको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएका शर्माले कोभिड १९ का कारण समस्या व्यहोरी रहेका बेलायतस्थित नेपाली व्यवसायीहरुलाइ संस्थागत सल्लाह, सुझावको खांचो रहेको बताए ।
“बेलायतमा नेपाली मूलका विज्ञ एकाउन्टेन्ट, कानून व्यवसायी, कर परामर्शदाताहरु हुनु हुन्छा। व्यावसायिक संस्थाहरु पनि हुनुहुन्छ। उहाँहरु सबैलाई एकै ठाउँमा बोलाएर नेपाली व्यवसायीहरुका समस्याबारे व्यापक छलफल गरि कार्ययोजना बनाउन जरुरी छ । म कार्यसमितिमा निर्वाचित भएमा त्यसको लागि पहल गर्ने छु,” उनले भने ।
बाग्लुंग जिल्लामा जन्मिएका सुमन सपरिवार लन्डनमा बस्छन् र आफ्नै व्यवसाय गर्छन् ।
“मैले एनआरएनएलाई नजिकबाट हेरी रहेको थिए। सबै नेपालीहरुको साझा संस्था, एनआरएनए, प्रति युवाहरुको आकर्षण कम हुंदै गएको हो कि जस्तो लाग्यो। त्यसैले म विजयी भएमा मेरो मुख्य उद्देश्य बेलायतमा रहेका नेपाली मूलका युवाहरुलाई एनआरएन अभियानमा जोड्ने नै हुने छ ।
खेलकुद, कला, संस्कृति, मनोरन्जन लगायतका माध्यमबाट युवाहरुलाई एकीकृत गर्दै समाजसेवामा सक्रिय बनाउने मेरो योजना छ,” उनले भने ।
” भूतपूर्व गोर्खाहरुको हकहित, ससाना नानीहरुका लागि नेपाली भाषा कक्षा संचालन गर्ने पनि मेरो योजना हुने छ। त्यस्तै एनआरएनएलाई पारदर्शी र उत्तरदायी बनाउने तर्फ पनि मैले काम गर्ने छु ।
त्यसैले आफ्नो अमूल्य मत दिएर मलाई विजयी बनाउनु हुन हार्दिक अपिल गर्दछु। साथै, तपाईं सबैको साथ, सहयोग र आशिर्वाद पाउने विश्वास पनि लिएको छु,” शर्माले भने ।
एनआरएन युकेमा शनिबार (३० जुलाई) राती १२ बजे देखि मतदान शुरु हुंदैछ ।