२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

एनआरएनएमा एमआइएस प्रणालीको चरम दुरुपयोग गरिएको आरोप, युरोप संयोजकले लेखे अध्यक्षलाई पत्र

976 Shares
Spread the love

लन्डन  — गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ ‘स्मार्ट एनआरएनए’ बनाउने भन्दै निकै तामझामका साथ शुरु गरिएको सदस्यता सूचना प्रणाली ( मेम्बरशिप इन्फर्मेशन सिस्टम- एमआइएस) माथि नै गम्भीर आशंकाहरु उत्पन्न भएका छन्।

नयाँ कार्य समिति चुन्न एनआरएनएका राष्ट्रिय समनवय परिषदहरुमा चुनाव भै रहेका बेला उक्त प्रणालीको योजनावद्ध रुपमा दुरुपयोग गरिएको आरोप लागेको छ, तर संघको केन्द्रिय नेतृत्वले अहिलेसम्म सार्वजनिक रुपमा कुनै जवाफ दिएको छैन, न त छानबिन गराउने घोषणा नै गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदका युरोप संयोजक नारायण आचार्यले संघको एमआइएस प्रणालीको चरम दुरूपयोग गरि एको भन्दै अध्यक्ष कुमार पन्तलाई एक पत्र लेखेका छन् ।

पत्रमा आचार्यले एमआइएस प्रणाली जुन उद्देश्यका लागि शुरु गरिएको थियो त्यो अनुरूप प्रयोग नभई कतिपय ठाउँहरूमा चरम दुरूपयोग भएको पाइएको जनाएका छन् ।

‘हाम्रो उद्देश्य भनेको सम्बन्धित व्यक्ति आफै स्वत:स्फुर्त रूपमा सदस्य बनुन र बिगतका वर्षहरूमा देखिएका विकृति र विसंगतिहरुको अन्त्य होस भन्ने थियो तर अहिले पनि एकै ब्यक्तिले धेरैका नाममा सदस्य बनाउने, एउटै व्यक्तिका नाममा २/३ पटक सदस्य बनाउने र पछि निर्वाचनको केहि समय अगाडी एडिट गरि अर्कै नाम भर्ने कार्य गर्ने गरेका कैयौं प्रमाणहरु प्राप्त भएका छन् । यस्ता गतिविधीहरुले निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ’,’ आचार्यले पत्रमा उल्लेख गरेका छन् ।

उनले अधिवेशन (निर्वाचन) नभई सकेका एनसीसीहरुका कुनै पनि सदस्यहरूको व्यक्तिगत सूचनालाई निर्वाचन नसकिदासम्म चेन्ज गर्न नसक्ने ब्यवस्था मिलाउन पनि माग गरेका छन् ।

जापानमा एमआइएस प्रणाली दुरुपयोग गरिएको आरोप

एमआइएस प्रणालीलाइ दुरुपयोग गरी एनआरएनए जापानका १७ सय बढी पन्जिकृत सदस्यहरुको इमेल लगायतका व्यक्तिगत विवरण परिवर्तन गरिएको र उनीहरुलाई मतदान प्रक्रियाबाट वन्चित गराउन खोजिएको उजुरी परे पछि निर्वाचन समितिले मंगलबार (जुलाई २७ मा) तोकीएको निर्वाचनलाई जुलाई ३० मा सारेको छ ।

सोमबार राती अबेर सूचना प्रकाशित गर्दै निर्वाचन समितिले जुलाई २७ मा मतदान गराउनु पर्ने तर अहिले उत्पन्न मतदाता नामावलीसँग सम्बन्धित विवाद र समस्यालाई केही हदसम्म समाधान गरेर मात्र मतदान गराइनु पर्ने भन्ने केही उम्मेदवारहरूको माग र कार्य समिति भित्रैबाट शुरु गरिएको मतदाताहरूको ईमेल ठेगाना र फोन नम्बरमा भएका त्रुटिहरू पत्ता लगाइ उचित ढंगले सच्याइ, सकेसम्म सम्पूर्ण मतदाताहरूले मतदान गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितताका लागि मतदान मिति परिवर्तन गरिएको उल्लेख गरेको छ ।

झन्डै ९,००० पन्जिकृत सदस्य रहेको एनआरएन जापानमा एमआइएस सिस्टममा प्रवेश गरी झन्डै १,७०० जना सदस्यको इमेल परिवर्तन गरिएकाले उनीहरुको इमेलमा मेसेज नै आएन। कार्यसमितिकै पदाधिकारीहरुले यसको व्यापक विरोध गरे पछि इमेल आइडी परिवर्तन गरिएका सदस्यहरुलाई गुगल फर्ममा आफ्नो विवरण राख्नका लागि बुधबार सम्मको समय दिइएको छ।

बेल्जियममा विवाद र तोडफोड

गैरआवासीय नेपाली संघ बेल्जियमको नयाँ कार्य समिति चयन गर्न आईतवार भएको मतदानका क्रममा एन्तवेरपेन मतदान केन्द्रमा गैर नेपाली केही युवाहरु जबर्जस्ति पसी मतपेटिका नस्ट गर्ने प्रयास गरेका थिए। उनीहरुलाई रोक्न खोज्दा भएको भीडन्तमा केहि एनआरएन सदस्यहरु घाइते भएका छन्।

नेपाली जनसम्पर्क समिति बेल्जियम, नेपाली जनप्रगतिशिल मंच बेल्जियम, नेपाली सङ्घीय समाज बेल्जियम तथा प्रवासी नेपाली एकता मंच बेल्जियमले आइतबार नै एक संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको निन्दा गरेका छन् । “यो घट्ना घट्नुको कारण एनआरएन बेल्जियमको सदस्यता वितरण तथा नवीकरण समितिका संयोजकको नियोजित चरम लापरवाही, सदस्यता भैसकेका ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने, हरेक दिन हरेक घण्टा घण्टामा फरक फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लगाएतले एक पक्षीय नामको मात्रै रुजु गर्ने, भएको नाम पनि छिन छिनमै विभिन्न क्षेत्रमा पार्ने, कहिले अर्कै क्षेत्रमा पार्ने काम भएकोले त्यसको निस्पक्ष छानबिन गरियोस्। यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिती पनि जिम्मेवार रहेको ठहर गर्दै निस्पक्ष छानबिनको गरियोस भन्न चाहान्छौ,” संयुक्त विज्ञप्तिमा भनिएको छ। तर एनसीसी बेल्जियमका निवर्तमान महासचिव एवं सदस्यता वितरण तथा नवीकरण समितिका संयोजक, तीर्थराज धमला, ले आफुमाथि लगाइएका आरोपहरुको खण्डन गरेका छन्।

युरोप संयोजक आचार्यले लेखेको पत्र जस्ताको तस्तै:

श्रीमान अध्यक्ष ज्यू,

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद

विषय:- अर्जेन्ट व्यवस्था गर्नु हुन ।

उपरोक्त विषयमा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले ब्यवस्था गरेको MIS प्रणाली जुन उद्देश्यका लागी सुरु गरिएको थियो त्यो अनुरूप प्रयोग नभई कतिपय ठाउँहरूमा चरम दुरूपयोग भएको पाइएको छ।

हाम्रो उद्देश्य भनेको सम्बन्धित व्यक्तिले आफै स्वत:स्फुर्त रूपमा सदस्य बनुन र बिगतका वर्षहरूमा देखियका विकृति र विसंगतिहरुको अन्त्यहोस भन्ने थियो तर अहिले पनि एकै ब्यक्तिले धेरैका नाममा सदस्य बनाउने, एउटै व्यक्तिका नाममा २-३ पटक सदस्य बनाउने र पछि निर्वाचनको केहि समय अगाडी एडिट गरि अर्कै नाम भर्ने कार्य गर्ने गरेका कैयौं प्रमाणहरु प्राप्त भएका छन्। यस्ता गतिविधिहरुले निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पारेकोछ।

 

अत: अधिवेसन (निर्वाचन) नभई सकेका एनसीसीहरुका कुनै पनि सदस्यहरूले निर्वाचन नसकिदासम्म आफ्नो व्यक्तिगत इन्फरमेसनलाई चेन्ज गर्न नसक्ने ब्यवस्था यथासिघ्र गर्नुहुन अनुरोध गर्दछु।

यदि हामीले यो ब्यवस्था मिलाउन सकेनौं भने निर्बाचन हुन बाँकी रहेका देशहरुमा स्वतन्त्र र निस्पक्ष निर्बाचन हुने कुरामा विस्वस्त हुन सक्ने अबस्था रहदैन। यही विषयले यूरोप र यूरोप बाहिरका केहि देशमा समस्या उत्पन्न भैसकेको छ।

मैले यूरोप क्षेत्रको क्षेत्रीय संयोजकका हैसीयतले महासचिबज्यूलाई यूरोप क्षेत्रको सदस्यहरुको नाम लिष्टको माग गरेको थिए, तर दुःखको कुरा उहाँले उपलब्ध गराउन नसक्ने ईमेल पठाउनु भयो !

क्षेत्रीय संयोजकलाई नाम लिष्ट उपलब्ध नगराएता पनि हाल सम्म दर्ता भएका सदस्यहरुको नाम परिवर्तन हुँदैन भन्ने ग्यारेण्टी गर्ने प्रमाण कहाँ र को संग रहन्छ ? कृपया जानकारी गराईदिनु होला भन्ने अनुरोध गर्दछु।

साथै हरेक NCC मार्फत दर्ता भएका सदस्यहरुले चुनेको प्रतिनिधीले हाम्रो ICC को नेतृत्व छनोट गर्ने हो। गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएको हुनाले NRNA को हरेक साधारण सदस्य नेपालको नियम र कानुनसंग जोडिएको हुन्छ।

अत: गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको विधान २००३ संसोधन २०२१ को परिच्छेद ६ को २२.९.१ ले गरेको ब्यवस्था अन्तर्गत गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको यूरोप क्षेत्रको प्रमुखका हैसीयतले पुन: एकपटक उक्त लिष्ट उपलब्ध गराउन अनुरोध गर्दछु।

यदि क्षेत्रीय संयोजकलाई उपलब्ध गराउन नमिल्ने भएको खन्डमा हाल दर्ता भएका सदस्यहरूको नाम NCC का अधिवेसनको पूर्वसन्ध्यामा परिवर्तन नहुने विश्वास र ग्यारेन्टीका लागी नेपाल सरकार परराष्ट्र मन्त्रालयमा पठाई दिनुहुन अनुरोध गर्दछु।

नारायण आचार्य

संयोजक

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, यूरोप क्षेत्र

प्रतिक्रिया