लण्डन : यूकेमा फेरि अर्का एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गत सोमबार बिहान निधन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । केही दिनदेखि ज्वरो र खोकी लगायतका लक्षण देखा परेर उनको स्वास्थ्यावस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ती व्यक्तिको निधन भएको थियो ।
मृतकको परिवार आफ्नै घरमा आइसोलेसनमा बसेको छ भने उनीहरुलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । संक्रमण फैलिने जोखिमका कारण उपचारको बेला र मृत्युपछि समेत परिवारले भेट्न पाएको छैन ।
यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।