वेल्स । गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेको वेल्स राज्य परिषद गठन गरिएको छ । आइतबार वेल्सको कार्डिफमा सम्पन्न पहिलो भेलाबाट रामचन्द्र पोखरेलको संयोजकत्वमा वेल्स परिषद गठन गरिएको हो । पोखरेल वेल्सस्थित वेल्स नेपाली समाजका अध्यक्ष हुन् । वेल्स परिषदको नवगठित कार्यसमितिको उपाध्यक्ष खेम क्षेत्री , सचिव निरालाल मोक्तान , सहसचिव प्रकाश कंडेल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठ र सहकोषाध्यक्ष एकबहादुर आले चुनिएका छन् ।सदस्यहरुमा दिपक लिम्बु, रामेश्वर देवकोटा , सिता राई, बलराम अधिकारी , डा जीवन केसी र मेमराज न्यौपानेलाई चयन गरिएको छ ।
कार्यक्रममा एनआरएन यूके कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, वेल्सस्थित विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधीहरुको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले वेल्समा पहिलोपटक एनआरएन यूकेको राज्य परिषद गठन हुनु संस्थाको लागि ऐतिहासिक उपलब्धी रहेको बताए । ‘एनआरएन यूके इङ्ग्ल्याण्डबाहिर बेलायतका अन्य राज्यमा पुग्न विगतमा ढिलाई भएकै हो, ती कमिकमजोरीका लागि हामीलाई माफी दिनुहोला’ , अध्यक्ष फगामीले थपे, ‘तर अन्तत: हामी तपाईहरुको माझमा आइपुगेका छौं ।अब तपाईहरुसंगै साथमा साथ मिलाएर हामी अघि बढ्नेछौ भन्ने म विश्वास दिलाउन चाहन्छु ।’ एनआरएन यूकेलाई वेल्ससम्म ल्याइपुर्याउन सहयोग गर्ने एनआरएन यूकेको कार्यसमिति, सल्लाहकार तथा अग्रज र वेल्सवासी सम्पुर्ण नेपालीहरुलाई धन्यवाद ज्ञापन गरे । एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभागका संयोजक ललित न्यौपानेले वेल्समा रहेका सम्पूर्ण नेपाली संघ संस्था तथा समुदायको सहभागितामा एनआरएन यूकेको परिषद गठन गरिएको बताए । पहिलोपटक वेल्समा परिषदको तदर्थ समिति गठन हुदै गरेको अवस्थामा निर्वाचन भन्दा सर्वासम्मतिमै टीम निर्माणको प्रयत्न गरिएको न्यौपानेले बताए ।
एनआरएन यूके महासचिव आरके त्रिपाठीले ढिलै भएपनि एनआरएन यूके अन्तत : लन्डन र इङ्ग्ल्याण्डभित्रको सिमा कटेर बेलायतका अन्य क्षेत्रका नेपालीमाझ पनि पुग्न सफल भएको धारणा राखे । ‘हामी ढिलै भएपनि तपाईहरु माझ आएका छौ । आपसी भाइचारा, भातृत्व र स्नेहको जगमा अब तपाईं हामी मिलेर एनआरएन अभियानलाई सार्थक बनाउनु छ’, वेल्सवासी नेपालीलाई आग्रह गर्दै महासचिव त्रिपाठीले भने, ‘सामाजिक कामहरु कसैको एक्लो व्यक्तिगत प्रयासबाट सम्भव नहुदो रहेछ । त्यसैले एनआरएन यूके आज तपाईहरुलाई हात दिन वेल्ससम्म आएको छ, तपाईहरुले साथ् दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ‘ । विदेशमा जन्मिएर हुर्किदै गरेको नयाँ पुस्तालाई नेपालसंग जोड्ने अभिभारा पनि अब एनआरएनको काँधमा आएको भन्दै महासचिव त्रिपाठीले स्थानीय युवाहरुलाई सोहीअनुसार सिकाउन र सहभागी गराउन वेल्सका एनआरएन अभियन्ताहरुलाई आग्रह गरे । एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगरले एनआरएन अभियान एक स्वयंसेवी तथा समाजसेवी अभियान रहेको उल्लेख गर्दै समय र योगदान दिन सक्नेले मात्र कार्यकारी भूमिका लिनुपर्ने धारणा राखेका थिए । उपाध्यक्ष गाहामगरले वेल्समा गठन भएको नयाँ राज्य परिषद समितिलाई भूपू गोर्खा, युवा लगायतका समाजका हरेक तप्कालाई एकजुट बनाएर एनआरएन अभियानमा सहभागी गराउन सुझाव दिएका थिए । एनआरएन अगुवा तथा बुद्धिजिवी शिवजी श्रेष्ठले स्थापनाकालदेखिका डेढ दशक इङ्ग्ल्याण्डमा मात्र सिमित रहेको एनआरएन यूके अहिले साँच्चिकै सिंगो बेलायतभर फैलिन सफल भएको बताए । एनआरएन यूकेमा आफ्नो सक्रिय सहभागिता सुनिश्चित गर्न वेल्सवासी नेपालीहरुले १० वर्ष अघिदेखि निरन्तर प्रयास गरेको स्मरण गर्दै श्रेष्ठले वेल्समा गठन भएको परिषदको पुर्ण सफलताको कामना गरे । कार्यक्रममा एनआरएन यूके नर्दन आयरल्याण्ड राज्य परिषद संयोजक लिलाराम निउरे, एनआरएन यूके सलाहकारहरु दयानिधी सापकोटा, खुशीमान गुरुङ र नारायाण कंडेल, एनआरएन आइसीसी रोड सेफ्टी टास्कफोर्स संयोजक थर्क सेन, एनआरएन यूके सचिव तारानाथ भण्डारी, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, वेल्स नेपाली समाजका अध्यक्ष रामचन्द्र पोख्रेल, किरांत याक्थुङ्गका बद्री यॊङ्गा, कुम्ब्रान नेपाली समाज वेल्स सचिव एमपी चेम्जोङ्ग लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै वेल्स राज्य समन्वय परिषदको गठन हुन लागेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए । वक्ताहरुले एनआरएन यूकेलाई बेलायतमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा संस्था बनाउनको लागि परिषद गठनले मात्रै नपुग्ने भन्दै व्यवहारिक रुपमै सबै क्षेत्रका नेपालीहरु समेटिनुपर्ने राय व्यक्त गरेका थिए । वेल्सस्थित नेपाली समुदायका प्रतिनिधी तथा एनआरएन अगुवाहरुले परिषद गठनसंगै पहिलोपटक वेल्समा एनआरएन यूकेको प्रत्यक्ष उपस्थिति हुनु ऐतिहासिक भन्दै खुशी व्यक्त गरेका थिए । राज्य समन्वय परिषद्लाई एनआरएन यूकेको केन्द्रीय समितिमा पनि सहभागिता सुनिश्चित गर्न उनीहरुले माग गरेका थिए ।