२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसी वेपत्ता

3772 Shares

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले दुई महिनामै सचिव परिवर्तन गरेकी छिन् । दुई महिनाअघि उनले रोजेर ल्याएका सचिव कृष्णराज बीसीलाई एक साता अघि सरुवा गरेको बताइन्छ । तर, सचिव बीसी कहाँ सरुवा भए, कुन अवस्थामा छन् केही अत्तोपत्तो छैन ।

उनको मोवाइल फोन पनि अफ छ । मन्त्री विना मगरले आफैंले आउनासाथ विज्ञान मन्त्रालयमा फालेका विवादास्पद सचिव गजेन्द्र ठाकुरलाई ल्याएकी छिन् ।

सचिव बीसीलाई फाजिलमा राखिएको स्रोतको दावी छ । विशिष्ट श्रेणीको लामो लिष्टमा उनको दरबन्दी नै कतै देखिंदैन । मन्त्रिपरिषदको बेबसाइटमा मुख्यसचिवसहित ७१ जना सचिव र विशिष्ट श्रेणीका कर्मचारीमा सचिव बीसीको नाम निसान छैन ।

विज्ञान प्रविधि मन्त्रालयमा सचिव खाली छ । तर उनलाई कहाँ सरुवा गरिएको हो भनेर कसैले पनि बताउन सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीसंग यसबारेमा बुझ्दा उनले सचिवलाई अतिरिक्त समूहमा विनाजिम्मेवारी राख्न नपाउनुपर्ने हो भने ।

मन्त्रिपरिषदको बेबसाइटमा उनको नाम नभएकोबारेमा प्रवक्ता अधिकारीले खानेपानी मन्त्रालय वा प्रधानमन्त्री कार्यालयमा बुझ्नुस् भने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरलाई पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

सरकारले उनलाई अतिरिक्त समूहमा राखेकाले उनको नाम सचिवहरुको सूचीमा समेत नभएको स्रोतले बताएको छ । स्रोतका अनुसार, अतिरिक्त समूहमा भएका सचिवको नाम बेबसाइटमा राखिदैन । यसअघि विशिष्ट श्रेणीका कर्मचारीलाई विनाजिम्मेवारी राखिदैनथ्यो ।

मन्त्रीका अनियमिततामा साथ नदिएपछि दुई महिनामै सचिव बीसी फालिएको स्रोतको दावी छ । र, सिंचाई मन्त्रालयमा हुँदा सरुवामा घुस मागेको आरोपका साथ सबै कर्मचारीले बहिस्कार गर्ने भएपछि तत्कालीन मन्त्री दीपक गिरीले समेत सरुवा गरेका ठाकुरलाई खानेपानीको सचिवमा ल्याइएको छ ।
-साँघु

प्रतिक्रिया