२०८१, ४ जेष्ठ शुक्रबार
×

ट्रेन्डिङ

नक्सा पासै नगरी होटल र अपार्टमेन्ट

1737 Shares

ललितपुर, चैत २६ । ललितपुर महानगरपालिका–१, बखुन्डोलमा जग खन्दा आसपासको टोल नै भासिएको समिट होटल र अपार्टमेन्ट निर्माणका लागि नक्सा पास नै नभएको खुलेको छ ।

साबिकको समिट होटल भत्काई त्यस ठाउँमा समिट होटल र अपार्टमेन्ट बनाउन जग खन्दा शुक्रबारदेखि अचानक आसपासका घर भासिएका थिए । उक्त घटनापछि स्थानीय डेरा खोजेर अन्त सर्न थालेका छन् । प्रहरीले उनीहरूलाई डेरा खोज्न सहजीकरण गरिरहेको छ ।

यसै विषयलाई लिएर ललितपुर महानगरपालिकामा पीडित, होटल तथा अपार्टमेन्टका सञ्चालक र महानगरपालिकाबीच आइतबार बैठक भएको छ । बैठकमा महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको खुलेको हो । यसरी नक्सा पास नगरी काम भएको र त्यसले गम्भीर क्षति पु(याएकाले महानगरपालिकले सम्बन्धित पक्षलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने निर्णय भएको छ ।

ललितपुर महानगरपालिकाका प्रेस संयोजक रमा लुइँटेलका अनुसार नक्सा पास स्वीकृतिका लागि महानगरपालिकामा फाइल नै पेस नभएको पाइएको छ । उनका अनुसार बैठकमा सञ्चालकका तर्फबाट निर्वाण चौधरीले आफूहरूको कार्यमा जेसुकै भए पनि सुरक्षालाई पहिलो प्राथमिकता दिएर तत्कालको समस्या समाधान भएपछि मात्र थप कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्माणका लागि थप कार्य अगाडि बढाउन भने अपार्टमेन्टले महानगरको नियमअनुसारको निवेदन दर्ता, सम्बन्ध, निर्माण स्वीकृति केही नलिएको प्रवक्ता राजु महर्जनले जानकारी दिए।

ललितपुर महानगरपालिका–१ का अध्यक्ष निर्मल तण्डुकारले निर्माणका लागि ललितपुर महानगरपालिका र आफ्नो वडासँग निर्माण कम्पनीले कुनै पनि छलफल नगरेको बताए । यस्ता ठूला संरचना बनाउन सामाजिक तथा वातावरणीय परीक्षण गर्न‘पर्ने भए पनि स्थानीय तहसँग समन्वय नगरी काम सुरु भएको उनको भनाई छ । ठूला भवन तथा अपार्टमेन्ट बनाउँदा सहरी विकास मन्त्रालयबाट प्लानिङको परमिट मात्रै लिएको देखिएको छ । भवन बनाउनेबारे कुनै पनि स्वीकृति लिएको देखिँदैन ।

सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख मचाकाजी महर्जनले आफ्नो विभागबाट समिट होटलरअपार्टमेन्टलाई कुनै पनि अनुमति प्रदान नगरेको बताए । यत्रो संरचना निर्माणमा अनुमति नहुनु भन्नु नै प्रश्न रहेको उनको भनाई छ ।

उक्त निर्माणबाट छिमेकी रञ्जनध्वज विष्ट र रञ्जन श्रेष्ठको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । विष्टको छ तलाको घरमा एक तला भासिएको छ भने श्रेष्ठको घर क्षतिग्रस्त बनेको छ ।

दुईवटा घर माटोभित्र दबिएपछि थप घरमा समेत क्षति हुने आशङ्का गरी ललितपुर महानगरपालिका–१ र २ बखुण्डोलका पाँचवटा घर खाली गराइएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया