२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

दिनभरको काम, बयासी रुपैयाँ दाम

120936 Shares
Spread the love

स्याङ्जा । ६० वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उनको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उनी अहिले पनि दैनिक ८२ रुपैयाँ १३ पैसामा काम गर्दै आएका छन्। अहिलेसम्म कुनै पनि नियमले घिलेको काम र श्रमलाई सम्बोधन गर्न सकेको छैन।

कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिरमा नगरा बजाउने घिलेको दैनिकी वर्षौंदेखि उस्तै छ। जिल्लाकै दुर्गम मानिएको कालीगण्डकी गाउँपालिकामा थुप्रै बाटा बनेका छन्। यहाँका ८० प्रतिशत नागरिकको घरमा धारो र बिजुली बत्ती पुगेको छ। गाउँपालिकामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकासको गतिले ठूलै फड्को मारेको छ तर शाह वंशीय कुल मन्दिरको अगाडि रहेको सानो घरको कोठामा नगरा बजाउने ६० वर्षीय घिलेको दैनिकीमा कुनै परिवर्तन आएको छैन।

१७०८ सालदेखि बराजुहुँदै बुवा र बुवाको मृत्युसँगै किसान घिलेले पुस्तैनी पेसाका रूपमा मन्दिरमा दमाहा बजाउन्छन्। उमेर हुँदासम्म कतै नगई पुर्खाको काम सम्हालेको घिलेले दुःखेसो पोख्दै भने, “उमेर पनि गयो, अब केही गर्न सक्दिनँ। जति दिए पनि यही मन्दिरमा काम गर्नुको विकल्प छैन।”

बिहान ५ बजे मन्दिरमा नगरा बजाउन पुग्ने घिले केही समयका लागि घर पुगेर सामान्य काम गरेर ८ बजे पुनः मन्दिर पुग्छन्। पूजा नहुँदा २ बजेपछि घर जाने घिले घाम अस्ताउने बेलामा फेरि नगरा बजाउन मन्दिरमा हाजिर हुने गरेका छन्।

आफन्तको बिहे, व्रतबन्ध, मर्दापर्दासमेत जान नपाउने दुखेसो गर्दै घिलेले निम्ता वा जानैपर्ने ठाउँमा छिमेकी तल्लो घरको भाइलाई एक दिनका लागि सहयोग गर्न आग्रह गरेर जाने गरेको बताए। थोरै रकमले के नै हुन्छ तर बाबुबाजेको परम्परा धानेको बताउँदै घिलेले मन भएका भक्तजनले कहिलेकाहीँ ५०/६० रुपैयाँ दिने गरेको बताए। ऐतिहासिक महत्व बोकेको मन्दिरको परम्परा बचाउन विगतमा योभन्दा अझ थोरै रकममा काम गरेको उनले उल्लेख गर्दै उचित पारिश्रमिकको व्यवस्था गरिदिन सबैसँग उनले आग्रह गर्दै आएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया