काठमाडौं । झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले एमबीबीएस पढ्न बंगलादेश पुग्ने नेपाली छात्राहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको गम्भिर आरोप लगाएपछि उनीमाथि कारबाही गर्न चौतर्फी माग बढेको छ । प्रसाईलाई नै मद्दत पुग्ने गरी कानुन मन्त्री शेरबहादुर तामाङले सोहि खालको अभिव्यक्ति दिंदा उनले मन्त्री पदबाटै राजिनामा दिनु प-यो ।
प्रसाईलाई सरकारले कारबाही नगरे उनको मुख नै सिलाइदिने चेतावनी बंगलादेशमा रहेका नेपाली छात्राहरुले दिइसकेका छन् । बंगलादेश पढ्न जाने छात्रहरु ५ वर्षमा आउने तर छात्राहरु भने ९ वर्ष लाग्ने गरेको प्रसाईले बताएका थिए । प्रसाईले छात्राहरुमाथि त्यहाँका प्रोफेसरहरुले यौन शोषण गर्ने गरेका कारण उनीहरु ९ वर्षमा आउने गम्भिर आरोप लगाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्सी चामलको भात खुवाएर सामाजिक सञ्जालमा चर्चा र बद्नामी दुबै कमाइरहेका प्रसाईले बंगलादेशका शिक्षण संस्था र प्रोफेसरहरुमाथि त्यस्तो गम्भिर आरोप लगाउनुको रहस्य भने अर्कै रहेछ ।
आठ कक्षा समेत उतिर्ण नगरेका प्रसाईको लक्ष्य बंगलादेशका लागि नेपालको अबैतनिक राजदूत बन्ने थियो । त्यसका लागि उनले धेरै दौडधुप पनि गरेका थिए । तर, बंगलादेश सरकारले उनलाई ठाडै अस्वीकार गरेपछि उनी बंगलादेश विरुद्ध खनिएका हुन् ।
आठ कक्षा उतिर्ण नगरेको, बंगलादेश र नेपालबीच आयात–निर्यातको कुनै व्यवसाय नगरेको र विवादास्पद छवि भएका कारण बंगलादेशले प्रसाईलाई अबैतनिक दूतमा अस्वीकार गरेपछि उनी बंगलादेशसँग रुष्ट बनेका हुन् । त्यसकारण बंगलादेशको विरोधमा प्रसाईको पछिल्लो अभिव्यक्ति आएको उनका एक सहयोगीले बताए । तर, उनले जुन अभिव्यक्ति दिए, त्यसले बंगलादेशलाई कुनै असर गरेन । अन्ततः उनी आफ्नै बोलीका कारण फन्दामा परेका छन् । (यूनाइटेड पोष्ट साप्ताहिक )