काठमाडौँ– आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको सङ्ख्या बढी देखिएको छ ।
संविधानतः मुलुक समाजवादोन्मुख भनिए पनि वर्षेनी सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सङ्ख्या बढी देखिनुले शिक्षामा वर्गीय र सामाजिक विभेद् कायमै रहेको दर्शाउँछ । यही चैत १० देखि २१ गतेसम्म हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएकामा दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीका अनुसार सामुदायिक विद्यालयका तीन लाख चार हजार १९६ विद्यार्थीमध्ये एक लाख ५८ हजार ३८९ छात्र र एक लाख १८ हजार ८०७ छात्रा छन् । निजी विद्यालयतर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा छन् । गत वर्ष पनि निजी विद्यालयतर्फ छात्र बढी थिए । सो वर्ष सामुदायिक विद्यालयमा कूल तीन लाख ५९ हजार ९१२ र निजी विद्यालयमा एक लाख २५ हजार ६७४ गरी चार लाख ८५ हजार ५८६ परीक्षार्थी थिए । – आजको नेपाल समाचारपत्रबाट