चैत्र १ – सरकारले भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई मन्त्रीसरहको मर्यादा प्रदान गरेको छ ।सो मर्यादामा रहनेहरुको तलब सुविधा मन्त्रीसरह हुने गरी मन्त्री परिषद्को विहिवारको बैठकले यस्तो निर्णय गरेको हो ।भारत र अमेरिकाका लागि राजदूतद्धय निलाम्बर आचार्य र डा. अर्जुनकुमार कार्कीलाई यस्तो मर्यादा र सुविधा प्रदान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।मन्त्री परिषद्को यो निर्णय नयाँ भने होइन ।

यसअघि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र चीनका लागि वर्तमान राजदूत लिलामणी पौडेललाई यस्तै मर्यादा प्रदान गरिएको थियो ।अन्य मुलुकका आवासीय राजदूतको मर्यादा सचिवसरहको रहने व्यवस्था छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले विभिन्न समयमा विभिन्न मुलुकका राजदूतलाई मन्त्रीसरहको मर्यादा तोक्दै आएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् ।
मन्त्रालयका अनुसार अमेरिकाका लागि तत्कालिन राजदूत योगप्रसाद उपाध्याय र यसअघि श्रीलंकाका लागि समेत राजदूत रहनुभएका निलाम्बर आचार्यलाई यस्तो मर्यादा प्रदान गरिएको थियो ।यससँगै मन्त्रीपरिषद्को बैठकले काठमाडौंस्थित सार्क सचिवालय र बंगलादेशको ढाकास्थित विमस्टेक सचिवालयका लागि नेपाली प्रतिनिधी रहने गरी परराष्ट्र सेवाका उपसचिवको पद सिर्जना गरेको छ । नेपालसमाचार पत्रमा खबर छ ।